आज जोर्डनसँग नेपाल भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 09:34:14
  • आइतबार,जेठ २४, २०८३
  • काठमाडौँ– पश्चिम एसियाली फुटबल एसोसिएसन(वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज (बिहीबार) नेपाल जोर्डनसँग भिड्दै छ। साउदी अरेबियामा जारी उक्त प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९–४५ बजे सुरु हुनेछ।

    फाइनलमा नेपालकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने अनुपस्थित रहने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार, सावित्रा फ्रान्सेली क्लब ईभी गुइनगाम्पबाट व्यावसायिक फुटबल खेल्छिन्। त्यसैले वाफ च्याम्पियनसिपको फाइनलअघि नै उनी फ्रान्स फर्कने भएकी छन्।

    विश्व फुटबल महासंघ (फिफा)को नियम अनुसार, राष्ट्रिय टोलीको खेल फिफा विन्डोमा रहेको अवस्थामा मात्र खेलाडीले देशको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। वाफ च्याम्पियनसिपको फाइनलअघिको खेलमात्र फिफा विन्डोमा रहेको थियो।

    तर, वाफ च्याम्पियनसिपको फाइनल खेल भने फिफा विन्डोभन्दा बाहिर छ। त्यसैले उनी नेपालको फाइनल खेल छाडेर व्यावसायिक फुटबल खेल्न फ्रान्स फर्कनु परेको हो। जारी वाफ च्याम्पियनसिपमा सावित्राले नौ गोल गरिसकेकी छन्। उनी जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्।

    साम्बाले समूहगत चरणमा सिरियाविरुद्ध एक गोल, इराकविरुद्ध पाँच गोल र प्यालेस्टाइनविरुद्ध दुई गोल गरेकी थिइन्। उनले लेबननविरुद्धको सेमिफाइनल खेलमा पनि एक गोल गरेकी थिइन्। सेमिफाइनल खेलमा नेपालले लेबननलाई २–१ गोलले हराएको थियो।

    नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो। नेपालले समूहगत चरणमा तीनवटै खेल जितेको थियो। नेपालले पहिलो खेलमा सिरियालाई ४–१, इराकलाई ५–० र प्यालेस्टाइनलाई ४–० गोलले हराएको थियो।