ईपीजी प्रतिवेदन बुझ्न भारतले मानेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ - Chaitanya News
  • 2026-11-20
  • 00:20:38
  • बिहिबार,मंसिर ०४, २०८३
  • ईपीजी प्रतिवेदन बुझ्न भारतले मानेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ

    ईपीजी प्रतिवेदन बुझ्न भारतले मानेन भने नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतले संयुक्त रूपमा गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशले संयुक्त रूपमा बुझ्नका लागि कूटनीतिक रूपमा गृहकार्य चलिरहेको बताएका छन्। आज (बुधबार) राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्। यस्तै उनले भारत सरकारले एकैपटक उक्त प्रतिवेदन बुझ्न नमानेको अवस्थामा नेपाल सरकारले निर्णय लिनुपर्ने अवस्था आउन सक्ने समेत बताए।

    सांसद रामचन्द्र राईले ईपीजी प्रतिवेदनको अवस्थाबारे र यससम्बन्धमा के भइरहेको छ भनेर प्रश्न गरेका थिए। जवाफमा प्रधानमन्त्रीले भने, ‘ईपीजीको प्रतिवेदन के हुँदैछ भन्नुभयो। सकेसम्म ईपीजी प्रतिवेदन दुवै देशले सहमतिबाट गठन भएको र प्रतिवेदन तयार भएको हुनाले एकैपटक बुझ्ने गर्दा राम्रो हुन्छ भनेर आन्तरिक गृहकार्य चलिरहेको छ। त्यो हुँदै भएन भने माननीय सदस्यहरूले भन्याजस्तो नेपालले निर्णय लिनुपर्ने अवस्था आउँछ।

    नेपाल(भारतबीचका सीमाका साथै सन् १९५० को सन्धि परिमार्जनलगायतका महत्त्वपूर्ण बुँदामा सहमति जुटाएर प्रतिवेदन तयार भएको थियो। २०७५ सालमै प्रतिवेदन तयार भए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समय नदिँदा उक्त प्रतिवेदन दुवै मुलुकले बुझेका छैनन्। यस्तो अवस्थामा प्रधानमन्त्री दाहालले उक्त प्रतिवेदन भारतले बुझ्न नमानेमा नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताए।