सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलायो - Chaitanya News
  • 2026-11-20
  • 00:02:28
  • बिहिबार,मंसिर ०४, २०८३
  • सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलायो

    सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलायो

    काठमाडौँ– सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ। काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो।

    गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। र आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।

    मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन्। यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन्।

    मिटरब्याज सम्बन्धी समस्या समाधानको लागि गृह मन्त्रालयमा पटक पटक छलफल भएको थियो। मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि कानुन संशोधन गर्नुका साथै अधिकार सम्पन्न आयोग गठन समेत गठन गरिएको थियो। उक्त आयोगको कार्यकाल सकिएपछि उजुरी फर्छ्यौट सम्बन्धी कार्यविधि तर्जुमा गरी दुवै पक्षको बिचमा छलफल तथा मेलमिलाप समेत गराइएको थियो। सहमति नभएका विषयमा कानुन बमोजिम मुद्दा दर्ता गर्ने लगायतका जिम्मेवारी नेपाल प्रहरीलाई प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारीले उक्त कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।

    उक्त व्यवस्थाकाबिच संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ।