काठमाडौँ– तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा बिहीबार क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको छ। जितसँगै भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ।
पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो। दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो।
काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा बिहीबार टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको क्यानडाले ३८।५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो।
क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय पाली खेले। उनले टोलीका लागि अविजित ५८ रनको योगदान गरे। उनले ७९ बलको सामना गरी ६ चौका पनि हिर्काए। ओपनर ब्याट्सम्यान एरोन जोन्सनले पनि ४२ रनको योगदान गरे। उनले ३१ बलमा चार छक्का र दुई चौका हिर्काए।
नवनित धालिवालले पनि टोलीको खातामा ३८ रन थपे। उनले ४५ बलमा एक छक्का र चार चौका पनि प्रहार गरे। निखिल दत्त १४ रन बनाउँदै आउट भए भने दिलप्रित बाजवा ११ रनमा पेभेलियन फर्किए।
क्यानडाले अतिरिक्त रुपमा केवल ६ रन पाएको थियो। नेपाली टोलीका बलर साहब आलम एक्लैले चार विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएका थिए। शेर मल्ल र बसिर अहमदले पनि एक–एक विकेट हात पारे।
त्यसअघि नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए। आशुतोषले २८ रन बनाए। उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए। अर्जुनले पनि टोलीको खातामा २७ रन थपे। उनले ५३ बलमा दुई चौका प्रहार गरे।
कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए। चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए। तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भए।
रासिद खानले टोलीको खातामा १९ रन थपे। उनले २५ बलमा एक चौका प्रहार गरे। सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले। बसिर अहमदले पनि २५ रन बनाए। बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे।
प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे। हेमन्त धामीले ६ रन बनाए । नेपालले अतिरिक्त रुपमा १२ रन पायो। क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए। कलिम साना र साद जाफरले पनि एक–एक विकेट हात पारे।
यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए। उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो।