नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १८२ रनको लक्ष्य - Chaitanya News
  • 2026-06-07
  • 12:49:20
  • आइतबार,जेठ २४, २०८३
  • नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १८२ रनको लक्ष्य

    नेपालको ‘ए’ टोलीले क्यानडालाई दियो १८२ रनको लक्ष्य

    काठमाडौँ– तेस्रो तथा निर्णायक मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालको ‘ए’ टोलीले ४७ ओभरमा अलआउट हुनुअघि एक सय ८१ रन बनाएको हो।

    नेपालका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए। आशुतोषले २८ रन बनाए। उनले ४३ बलको सामना गरी पाँच चौका पनि हिर्काए। अर्जुनले पनि टोलीको खातामा २७ रन थपे। उनले ५३ बलमा दुई चौका प्रहार गरे।

    कप्तान सन्दीप जोरा २४ रन बनाउँदै पेभेलियन फर्किए। चौथो नम्बरमा क्रिज समाल्न आएका उनले २८ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए। तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल भने खाता खोल्नुअघि नै आउट भए।

    रासिद खानले टोलीको खातामा १९ रन थपे। उनले २५ बलमा एक चौका प्रहार गरे। सुजन थपलियाले ५१ बलमा एक चौकको मद्दतले २० रन बटुले। बसिर अहमदले पनि २५ रन बनाए। बसिरले ४० बलमा तीन चौका पनि प्रहार गरे।

    प्रतिस जिसीले २० बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन जोडे। हेमन्त धामीले ६ रन बनाए। नेपालले अतिरिक्त रुपमा १२ रन पायो। क्यानडाका बलर डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए। कलिम साना र साद जाफरले पनि एक–एक विकेट हात पारे।

    तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ। तेस्रो खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ। पहिलो एकदिवसीयमा क्यानडाले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो। दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडालाई दुई विकेटले पराजित गरेको थियो।

    यसअघि नेपाल र क्यानडाको सिनियर टोलीले तीनवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिए। उक्त शृंखलामा नेपाल ३–० ले विजयी भएको थियो।