आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई - Chaitanya News
  • 2026-06-07
  • 12:48:23
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई

    आईसीसी विश्वकप लिग–२: नेदरल्यान्ड्सले सजिलै हरायो नामिबियालाई

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत तेस्रो खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले पराजित गरेको छ। नामिबयाले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७।२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो।

    नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ८१ बलमा ८ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, म्याक्स ओ डाओडले २८ रनको योगदान दिए। उनले २ चौका र २ छक्का हिर्काए। बास डी लिडेले २१ रन बनाए।

    यसअघि आर्यन दत्तले घातक बलिङ गर्दै ६ विकेट लिएपछि नामिबिया ३५।१ ओभरमा १ सय २३ रन बनाउँदै अलआउट हुन पुगेको थियो। दत्तले ९ ओभर बलिङ गर्दै ३४ रन खर्चेर ६ विकेट लिए।

    नामिबियाका लागि जोनाथन स्मिथले सर्वाधिक २६ रनको योगदान दिए। उनले एक चौका र २ छक्का हिर्काए। त्यस्तै, रुबेन ट्रम्पलम्यानले ३९ बलमा २० रन बनाए। उनले एक छक्का प्रहार गरे।

    विकेटकिपर जेन ग्रिनले १९ रन बनाउँदा निकोलास डेभिन र कप्तान जेरहार्ड इरास्मसले १३–१३ रनको योगदान दिए। नेदरल्यान्ड्सका लागि कायल क्लेइनले २ तथा म्याक्स ओ डाओड र रोलोफ भान डर भर्वेले १–१ विकेट लिए ।

    त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो। आजको खेलपछि तीनै टोलीले २(२ अंक बटुलेको छ । नेट रनरेटको आधारमा नेपाल पहिलो, नामिबिया दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।