आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै - Chaitanya News
  • 2026-06-07
  • 12:48:26
  • आइतबार,जेठ २४, २०८३
  • आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    आईसीसी विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

    काठमाडौँ– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९–१५ बजेदेखि सुरु हुनेछ।

    नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ ९२०२३–२०२७० को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ। पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो।

    लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन्। पहिलो संस्करणमा सात वटा राष्ट्र मात्र सहभागी थिए।

    लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ। यसपटक लिग(२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन्।