काठमाडौँ– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको खेलमा नेपाली इनिङ सम्हालिरहेका भीम सार्की ४४ रनमा आउट भएका छन्।
पाँचौँ नम्बरमा व्याटिङमा आएका सार्की सातौँ विकेटका रुपमा २७.४ ओभरमा आउट भएका हुन्। अफस्टम्प नजिकैको बलमा कप्तान एरास्मसजले जोडदार अपिल गरेका थिए। जसमा अम्पायरले एलबीडब्लू आउट लिए। एकातिरबाट लगातार विकेट गइरहे पनि एकातिरबाट नेपाली इनिङ सम्हालेका भीमले ८६ बलमा २ चौका र १ छक्का हाने।
यसअअघि छैटो विकेटका रुपमा सोमपाल कामी व्यक्तिगत २ रनमा आउट भएका थिए। जेरार्ड एरास्मसको बललाईसोमपालले स्वीप खेल पनि मिडविकेटका जेन फ्रेलिंकले उत्कृष्ट रनिङका साथ स्क्वायर लेगमा उत्कृष्ट क्याच लिए।
यसअघि १९.५ ओभरमा कप्तान जेरार्ड एरास्मसले नै कुशल मल्ललाई आउट गरेका थिए। मल्ल सट थर्डम्यानमा लुंगामेनीबाट क्याच आउट भएका छन्। कुशललाई आउट गर्नको लागि जेरार्ड रणनीतिक हिसाबमा आफैँ अफ स्पिन बलिङ लिएर आएका थिए। उनको यो रणनीति सफल भएको छ र उनी कुशल र सोमपालको विकेट लिन सफल भएका छन्।
यसअघि कप्तान रोहितकुमार पौडेल चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए। इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोलेका थिए। १३ बल खेलेर आउट भएका रोहितले दोस्रो रन थप्न सकेनन्।
एक दिवसीय क्रिकेटमा डेब्यू गरेको यू–१९ टिमका खेलाडी ब्रासेलले यसअघि ३.५ ओभरमा ओपनर आसिफ शेखलाई पनि आउट गरेका थिए। ज्याक ब्रासेलको बलमा आसिफ सिल्ली मिडअनमा जेजे स्मिथको हातबाट सहज क्याच आउट भए। यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई रोयल डक र तेस्रो नम्बरका ब्याटर अनिल साहलाई ८ रनमा गुमाएको थियो।