सिंहदरवारका कर्मचारीलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव माग्दै अर्थ - Chaitanya News
  • 2026-11-19
  • 22:35:34
  • बिहिबार,मंसिर ०४, २०८३
  • सिंहदरवारका कर्मचारीलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव माग्दै अर्थ

    सिंहदरवारका कर्मचारीलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव माग्दै अर्थ

    काठमाडौँ– अर्थ मन्त्रालयले सिंहदरवार र आसपासका सरकारी कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई निःशुल्क सेवा दिन बस सेवा सञ्चालन गर्न प्रस्ताव मागेको छ। मन्त्रालयले विभिन्न शर्तको अधिनमा रहेर दैनिक दुई पटक ओसारपसार गर्ने गरी एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन गर्न इच्छुक यातायात व्यवसायीसँग प्रस्ताव मागेको हो।

    यातायात व्यवसायीले आफूले दिने सेवाको विवरणसहित सिलबन्दी दर भाउपत्र पेश गर्नुपर्ने छ। चालु आर्थिक वर्ष २०८०–०८१ का लागि ४० सिट क्षमता भएका नयाँ मोडेलका २ वटा बस सञ्चालन गर्ने तयारी भएको हो।

    मन्त्रालयका अनुसार सामान्यतया एकीकृत कर्मचारी परिवहन सेवा दिनमा २ पटक (बिहान कार्यालय समयभन्दा १५ मिनेट अगाडि (९.४५ बजे)सिंहदरवारको दक्षिण ढोकामा आइपुग्ने र बेलुका कार्यालय समयभन्दा १५ मिनेट पछि (नियमित ५.१५ बजे र शुक्रबार ३.१५ बजे) बस छुट्ने गरी व्यवस्था मिलाउनु पर्नेछ। एकीकृत कर्मचारी परिवहन सेवा सञ्चालन सम्झौताको अवधि एक वर्षको हुने मन्त्रालयले जनाएको छ।

    यी बसहरूमध्ये एउटा सिंहदरबार–शहिदगेट–त्रिपुरेश्वर–कालिमाटी–कलंकी–नागढुङ्गा–कलंकी–स्वयम्भू–टंकेश्वर–कालिमाटी–त्रिपुरेश्वर–थापाथली–सिंहदरबार रुटमा चल्नेछ। अर्को बसका लागि सिंहदरबार–नयाँबानेश्वर–कोटेश्वर–बालकुमारी–सातदोबाटो–लगनखेल–एकान्तकुना–जावलाखेल–पुल्चोक–कुपन्डोल–सिंहदरबार रुट तय गरिएको छ।