काठमाडौँ– एनसेल सेयर बिक्री सम्बन्धी प्रतिवेदन मन्त्रिपरिषदमा पुगेको छ। आज (शुक्रबार) सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन मन्त्रिपरिषदमा विचाराधीन रहेको जानकारी दिइन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले उठाएका सवालको जवाफमा मन्त्री शर्माले छानबिन समितिले प्रतिवेदन बुझाएकाले सोको अध्ययन भइरहेको बताइन्।
उनले त्यसबारे निर्णय नभएकाले हाल प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने जवाफ दिइन्। समितिका केही सदस्यले प्रतिवेदन आफूहरूलाई दिन माग गरेका थिए।
समितिको बैठकमा सुरक्षण मुद्रणसम्बन्धी विधेयकका दफा १९ देखि २६ सम्ममा छलफलपछि पारित भएको छ।रासस