पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई सात रनले हरायो - Chaitanya News
  • 2026-08-01
  • 15:05:33
  • शनिबार,साउन १६, २०८३
  • पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई सात रनले हरायो

    पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले क्यानडालाई सात रनले हरायो

    काठमाडौँ– पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो। जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सक्यो।

    सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो। शृंखलाको दोस्रो खेल शनिबार कीर्तिपुरमै खेलिने छ।