काठमाडौँ– क्यानडाविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले २० ओभरमा तीन विकेट गुमाएर १०४ रन बनाएको छ। नेपालका लागि चौथो नम्बरका ब्याट्सम्यान भीम सार्की अविजित १६ रन र पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल तीन रन बनाउँदै क्रिजमा छन्।
त्यसअघि नेपालले पहिलो विकेटका रुपमा ओपनर आशिफ शेखलाई गुमाएको थियो। उनी २४ बलमा आठ रन बनाउँदै आउट भएका थिए। ९.१ ओभरमा आशिफ आउट हुँदा नेपालले ४८ रन बनाएको थियो। विकेटकिपर ब्याट्सम्यान आशिफलाई क्यानडाका बलर उदय भगवानले नवनित धलिवलद्वारा क्याच गराएका थिए।
नेपालले दोस्रो विकेटका रुपमा कप्तान रोहितलाई गुमाएको थियो। उनी १७ बलमा एक चौकाको मद्दतले आठ रन बनाउँदै आउट भएका थिए। रोहितको विकेट इश्वरजोत सोहीले लिएका थिए। उनले नेपाली टोलीका कप्तानलाई हर्ष थाकेरद्वारा क्याच गराएका थिए। रोहित आउट हुँदा नेपालले १४.३ ओभरमा ७१ रन बनाएको थियो।
नेपालले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो। उनी ६२ रन बनाउँदै आउट भएका थिए। उनले ५८ बलको सामना गरी एक छक्का र नौ चौका हिर्काएका थिए। कुशलले १३.४ ओभरमा ४४ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले अर्धशतक पुरा गरेका थिए।
कुशल क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान पनि बनेका छन्। कुशलको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए। जाफरले कुशललाई विकेटकिपर श्रेयस मोभाद्वारा स्टम्पिङ गराएका थिए। १८.३ ओभरमा कुशल आउट हुँदा नेपालले ९८ रन बनाएको थियो।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ।