काठमाडौँ– नेपाली काँग्रेसले महासमितिको तयारीका लागि उपसमिति संयोजक तोकेका छ। आज (आईतबार) सभापति शेरबहादुर देउवाले महासमितिको तयारीका लागि उपसमिति संयोजक तोकेका हुन्।
आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकका मूल समितिका संयोजक सभापति देउवाले आठ नेतालाई उपसमिति संयोजक तोकेका छन्। देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई तोकेका छन्।
आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य बनेका छन् । भोजन व्यवस्थापन उपसमितिको नेतृत्व उदय शम्शेर राणाले पाएका छन्। यातायात व्यवस्थापनमा धना खतिवडालाई तोकिएको छ।
स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी. प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन्।
ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको तयारी समितिका उपसंयोजक तोकिएका नेताहरू अधिकांश ललितपुरका छन्। प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्मा र प्रदेश समन्वय उपसमिति संयोजक बानियाँ बाहेकका सबै जना ललितपुरका हुन्।