काठमाडौँ– आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको नेपालविरुद्धको खेलमा शुक्रबार भारतीय टोलीले ४० ओभरमा तीन विकेट गुमाएर दुई सय १६ रन बनाएको छ। भारतका लागि कप्तान उदय शरण ६५ रन र सचिन दास ८७ रन बनाउँदै क्रिजमा छन्।
भारतको पहिलो विकेट नेपाली बलर गुल्सन झाले लिएका हुन्। गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए। भारतले ४।५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो।
भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो। पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए। उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए। १.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो।
भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए। आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको व्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए। १४ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो।
‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो। यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ।