नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका बिरामी, कुन प्रदेशमा कति? - Chaitanya News
  • 2026-05-04
  • 09:04:14
  • सोमबार,बैशाख २१, २०८३
  • नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका बिरामी, कुन प्रदेशमा कति?

    नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका बिरामी, कुन प्रदेशमा कति?

    काठमाडौँ– नेपालमा आज (आइतबार) कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने नाराका साथ ७१ औँ विश्व कुष्ठरोग दिवस मनाइँदै छ। ‘ नेपालमा २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९–८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो।

    गत आर्थिक वर्षको अन्त्यमा दुई हजार पाँच सय १० जना कुष्ठरोगी उपचाररत रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गत वर्ष १४ वर्ष मुनिका १ सय ८१ जना कुष्ठरोगका बिरामी फेला परेका छन्। अर्थात् नयाँ बिरामीमध्ये ० देखि १४ वर्ष उमेरका ७ दशमलब १८ प्रतिशत बालबालिकामा सो रोग पुष्टि भएको हो।

    कुष्ठरोगका नयाँ बिरामीमध्ये एक हजार ४९ जना महिला रहेको माहाशाखाले जनाएको छ। अर्थात कुष्ठरोगका बिरामी संख्यामध्ये ४१ दशमलब ५१ प्रतिशत महिला छन्।

    गत वर्ष प्रति एक लाखमध्ये ८ दशमलब ५० जना नयाँ बिरामी पत्ता लागेको महाशाखाले जनाएको छ।

    कुन प्रदेशमा कुष्ठरोगका नयाँ बिरामी कति?

    कुष्ठरोगका नयाँ बिरामी कर्णाली प्रदेशमा सबैभन्दा कम फेला परेका छन्। सो प्रदेशमा ७३ जनामा मात्रै कुष्ठरोग पुष्टि भएको महाशाखाले जनाएको छ। देशभर फेला परेका कुष्ठरोगका नयाँ बिरामी २५ सय २२ मध्ये कर्णालीमा सबैभन्दा कम अर्थात् ३ प्रतिशत फेला परेका हुन्।

    महाशाखाका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी अर्थात् ९ सय ४४ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन्। फेला परेका जम्मा बिरामी संख्यामध्ये ३७ प्रतिशत मधेसमा छन्।

    यस्तै, कोशी प्रदेशमा ४ सय ७१ जना अर्थात् नयाँ फेला परेका कुष्ठ रोगका बिरामीको १९ प्रतिशत हिस्सा पाइएको छ। यस्तै, नयाँ कुष्ठरोगीमध्ये बागमती र गण्डकी प्रदेशमा पाँच÷पाँच प्रतिशत छन् । बागमती प्रदेशमा १ सय २० जना र गण्डकी प्रदेशमा १ सय १९ जना नयाँ रोगी फेला परेका हुन्। लुम्बिनी प्रदेशमा ५ सय ६५ जना नयाँ कुष्ठरोगी फेला परेका छन्, जो देशभरका नयाँ रोगीको २२ प्रतिशत हो।

    यस्तै, सुदूरपश्चिम प्रदेशमा २ सय ३० जना नयाँ कुष्ठरोगी फेला परेका छन्। देशभरको नयाँ कुष्ठरोगीमध्ये यो ९ प्रतिशत हिस्सा हो।

    के हो कुष्ठरोग?

    कुष्ठरोग कार्यक्रमको राष्ट्रिय कार्य सञ्चालन निर्देशिका २०७० अनुसार कुष्ठरोग एक प्रकारको सरुवा रोगमध्ये कम सर्ने रोग हो, यो रोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सुक्ष्म किटाणुबाट लाग्दछ। यस रोगले छाला र सतहको स्नायूमा असर गर्दछ। यो रोगको समयमै उपचार नगर्दा अङ्गभङ्ग हुने गर्दछ।

    कुष्ठरोग प्राचिनकालदेखि नै मानव समाजमा परिचित हुँदै आए तापनि सन् १८७३ (वि.सं. १९३० मा नर्वेका डा. गेरहार्ड हेनरिक आमेर स्ह्यान्सनले यस रोगको किटाणु पत्ता लगाएका थिए। त्यसैले यस रोगलाई हयान्सन्स् डिजिजसमेत भन्ने गरिन्छ।

    किन लाग्छ कुष्ठरोग?

    कुष्ठरोगका रोग किटाणुबाट हुने अरु सरुवा रोगजस्तै रहेको निर्देशिकामा उल्लेख छ। मानिसको शरीरमा कुष्ठरोगको किटाणुले प्रवेश गरेपछि यदि त्यस मानिसमा कुष्ठरोगको किटाणु विरुद्धको प्रतिरोधात्मक शक्ति कमजोर भएमा साधारणतया २ देखि ५ वर्षभित्र यो रोगको प्रारम्भिक चिह्न अर्थात् लक्षण देखा पर्न सक्ने निर्देशिकामा उल्लेख छ।

    कुष्ठरोग कसरी सर्छ?

    निर्देशिका अनुसार कुष्ठरोग मुख्यतया श्वास प्रश्वासको माध्यमबाट सर्दछ। धेरै किटाणु भएको र उपचार नलिएको बिरामीले श्वास फेर्दा वा हाछ्युँ गर्दा कुष्ठरोगका किटाणुहरु बिरामीको शरीरबाट बाहिर आउँछन् र निरोगी व्यक्तिले श्वास लिँदा उसको शरीरमा प्रवेश गर्दछन्।

    यो रोग हातखुट्टामा भएको घाउको पिपबाट बिरामीको दिसा पिसाबबाट र बिरामीले प्रयोग गरेको भाँडा वा कपडा पुनः प्रयोग गर्दा नसर्ने उल्लेख गरिएको छ। बिरामीलाई लामखुट्टे, उडुसले टोकेर पुनः स्वस्थ मानिसलाई टोक्दा वा यौन सम्पर्कबाट पनि यो रोग सर्दैन। त्यस्तै गर्भवती आमालाई रोग लागेको भएता पनि बच्चा पेटमा रहुन्जेल यो रोग सर्दैन अर्थात् बिरामी आमाबाट पनि बच्चा जन्मदा स्वस्थ नै हुन्छ।

    पछिल्लो तीन वर्षमा बढे कुष्ठरोगका बिरामी

    नेपालमा पछिल्लो तीन वर्ष यता कुष्ठरोगका बिरामी बढेका छन्। महाशाखाका अनुसार गत वर्ष २ हजार ५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको छ। अघिल्लो वर्ष अर्थात् सन् २०२१–२०२२ मा २ हजार २ सय ८५ जनामा कुष्ठरोग देखिएको थियो। यस्तै, वर्ष २०२०–२०२१ मा २ हजार १ सय ७३ जनामा कुष्ठरोग पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ।