काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ। आज (मंगलबार)काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो।
कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेले। उनले टोलीका लागि ७३ रनको योगदान गरे। आक्रामक रूपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए।
तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराई ११ रन बनाउँदै पभेलियन फर्किएका थिए। तल्लो क्रमका ब्याट्सम्यान सौजन घिमिरेले १२ रन जोडे। कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्। दुवै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।
ओपनर सोनु अन्सारी आठ र कप्तानसमेत रहेका अंकित सुवेदी चार रनमै आउट भए। शुभन गहतराजले त खातासम्म खोल्न सकेनन्। फिरदोष अन्सारी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन्। समीर कार्की पनि ६ रनमै आउट भए। अभ्यास तिमिसिनाले नौ रन बनाए।
कोशी प्रदेशले अतिरिक्त रूपमा पनि २२ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले चार विकेट लिए। उनले आठ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए। प्रकाश जैसीले पनि तीन विकेट हात पारे। दिवान पुनले दुई विकेट लिए।