काठमाडौँ– काभ्रेपलान्चोकका सूचना अधिकारीहरूको बैठकले सूचना अधिकारी नतोकिएका कार्यालयलाई तत्काल सूचना अधिकारी तोक्न निर्देशन दिएको छ। केही कार्यालयले सूचना अधिकारीको व्यवस्था नगरेको गुनासो आएपछि आइतबार बसेको बैठकले सूचना अधिकारी तोक्न निर्देशन गर्ने निर्णय गरेको हो।
बैठकले सूचनाको हकसम्बन्धी ऐनले तोकेअनुसार सार्वजनिक निकायको दायित्वबमोजिम नियमित रूपमा प्रकाशन गर्नुपर्ने सूचना सार्वजनिक गर्न कार्यालयलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकारी दिए। सबै कार्यालयले सूचना माग भएको र सूचना प्रवाह भएको विवरण छुट्टै अभिलेख राखी त्रैमासिकरवार्षिक रूपमा प्रतिवेदन तयार गरी प्रशासन कार्यालयमा पठाउन पनि बैठकले निर्देशन दिने निर्णय गरेको छ।
कार्यालयहरूबाट सहज रूपमा सूचना नपाएको गुनासो नआओस् भन्नका लागि सूचना अधिकारीको व्यवस्था गरी सम्पर्क नम्बर र सूचना मागको विवरणलगायत सूचनाको हक कार्यान्वयनको अवस्था बारेको प्रतिवेदन एक साताभित्र प्रशासन कार्यालयमा पठाउन निर्देशन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। बैठकले स्थानीय तहको वेबसाइटमा सबै वडाध्यक्ष र वडा सचिवको सम्पर्क नम्बर राख्न स्थानीय तहलाई अनुरोध गरेको छ।
