धनगढी– माघ महिना नजिकिँदै गर्दा पश्चिम नेपालका थारू बस्तीमा माघी पर्वको उल्लास बढेको छ। थारू समुदायमा धार्मिक, आर्थिक तथा सामाजिक हिसाबले माघी पर्व निकै महत्त्वपूर्ण मानिन्छ।
माघ महिनाबाट थारू समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ। समाजमा नयाँ नेतृत्व चयन गरिन्छ। यो पर्वमा ठुलाबडाबाट आशीर्वाद लिइन्छ। विभिन्न सामाजिक बन्धनबाट पनि मुक्त हुने हुँदा स्वतन्त्रताको पर्वका रूपमा पनि माघ मनाइन्छ।
यसको पूर्वसन्ध्यामा विभिन्न ठाउँमा आयोजना हुने माघ मेला, महोत्सव झनै रौनक बढाउँछ। त्यसमा नाचिने मघौटा, झुम्रा, सखिया नाच, गाइने ढमार गीतले गाउँबस्ती नै माघको उल्लासको रसमा झुमिरहन्छन्।
माघी पर्वमा बङ्गुरको मासुको विशेष परिकार बनाइन्छ। त्यसैले हप्ता दिन पहिलेदेखि गाउँघरमा बङ्गुरको किनबेच बढिइरहेको छ। यो पर्वमा ढिक्रीको परिकार अनिवार्य चाहिन्छ। त्यसका लागि मिलमा चामलको पिठो पिसाउनेहरू बढेका छन्।
कामको सिलसिलाले घरभन्दा बाहिर रहेका र विवाहित चेलीहरू पर्व मनाउन माइती घरमा आउने भएकाले उल्लास थपिँदै गएको छ।
आमनेपालीले माघ १ गतेलाई माघेसङ्क्रान्तिका रूपमा आआफ्नै रीति संस्कृतिअनुसार मनाउँछन्। उनीहरुले विशेष गरी घिउ, तरुल, चाकुका परिकारहरु खाने गर्छन्।
तर दाङदेखि कञ्चनपुरसम्मका थारू बस्तीमा भने पुस महिनाको अन्तिम दिनदेखि माघ २ गतेसम्म यो पर्व मनाइन्छ। यद्यपि पछिल्लो समय कामाडौँ उपत्यका तथा विदेशमा समेत माघ मनाउन थालिएको छ। थारू बस्तीमा पुसको अन्तिम दिन नै बङ्गुरको जिटा सामूहिक रूपमा काटिन्छ। पर्वको विधिवत् सुरुवात गरिन्छ।
सार्वजनिक बिदा दिन माग:
माघी पर्व मनाउन थारू सम्बद्ध अधिकारवादी सङ्घ सङ्गठनहरूले माघ ३ गतेसम्म सार्वजनिक बिदा दिन माग गरेका छन्। थारू कल्याणकारिणी सभा कैलालीका सभापति वीरबहादुर चौधरी नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई माघी पर्व बिदाको माग गर्दै मङ्गलबार ज्ञापनपत्र समेत बुझाएको छ।
यसैबिच कैलालीको कैलारी गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजसमझ चौधरी जानकारी दिए।
ठुलाबाट आशीर्वाद:
माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आआफ्नो आफन्त, इष्टमित्रलाई भेटघाट गर्ने, ठुलाबाट अशीर्वाद लिने र सानालाई अशीर्वाद दिने प्रचलन रहिआएको छ। यो दिन पनि आफ्नो घरमा रहेका ढिक्रीलगायतका पाकवान खाने र खुवाउने चलन रहेको थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर थारूले बताए।
मकर सङ्क्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ। यो दिन पशुपन्छी वध हुँदैन। यो दिनलाई नै थारू समुदायले नयाँ वर्ष मान्ने गरेका छन्।
बस्ती नेतृत्व चयन:
माघी पर्वको तेस्रो दिन ९माघ २ गतै० लाई खिच्रहवा भन्ने गरिएको छ। यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारू बुद्धिजीवीहरू बताउँछन्। थारू नागरिक समाज कैलाली संयोजक थारूका अनुसार माघी पर्वको तेस्रो दिनदेखि गाउँ गाउँमा नयाँ नेतृत्वकर्ता एवं भलमन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ। यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ। यस्तो प्रचलन दाङदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म रहेको छ।
आजभोलि नै थारू बस्तीमा आउने नेतृत्व कसलाई बनाउनेबारे पूर्व छलफल समेत सुरु भएको बताइएको छ।
एउटा परिवारका सबै सदस्य एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ। यसलाई ‘खोजनी बोजनी’ पनि भन्ने गरिएको छ।
‘खोजनी बोजनीमा अघिल्लो वर्ष परिवारले गरेका गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक थारूले भने– ‘छलफलबाट आगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ।
निकै रमझमका साथ यसरी माघी पर्वको विधिवत् रूपमा अन्त्य भई थारूहरूमा भोज विवाहलगायतका अन्य कार्यक्रम सुरु हुने गरेको बताइएको छ।
पश्चिमतिर प्रचलनमा रहेको कमैया, कमलरी प्रथासँग पनि यो पर्वको सम्बन्ध रहेको छ। हाल कमैया, कमलरी प्रथालाई सरकारले नै प्रतिबन्ध लगाए पनि उहिले माघी पर्वपछि नै प्रायः कमैया, कमलरी बस्ने प्रचलन रहेको थियो।
यद्यपि जुनसुकै बेला कमैया, कमलरीका लागि अनुबन्धित भएका व्यक्तिहरू माघी पर्व आएपछि मात्रै छुटकारा पाउने गरेको कारणले यसलाई स्वतन्त्रताको पर्वसमेत भन्ने गरिएको हो।