जनकपुरधाम– भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ।
मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ। त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा (घरबास)मा सीताको माइतीघर जनकपुरबाट कोसेली पठाउन लागिएको हो।
कोसेलीमा सारी, धोती, गरगहना, पलङ, टेबुल, कुर्सि, चुल्हो, विभिन्न प्रकारका मिठाइ समावेश गरिएको छ। ती कोसेली बोकेको टोली आज महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै वीरगञ्जमा पुगेर बास बस्ने छ।
भोलि (शुक्रबार) बिहानै सीमापारी भारतको रक्सौल हुँदै बेतिया, गोरखपुर र अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए। उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्मभूमि ट्रष्टलाई कोसेली हस्तान्तरण गर्ने कार्यक्रम छ।