काठमाडौं– दाँतले मानिसको स्वास्थ्य र सुन्दरतामा महत्वपूर्ण प्रभाव पारिरहेको हुन्छ। दाँतमा ग्याप हुने, किरा लाग्ने, गिजासम्बन्धी रोग, खराब सासलगायत विभिन्न समस्या देखिन्छन्। दाँत राम्रो हुँदा मुख राम्रो देखिन्छ। आत्मविश्वास, राम्रो पाचन प्रणाली र समग्र व्यक्तित्वका लागि दाँत स्वस्थ राख्न जरुरी छ। भिटामिन, मिनरल्स र पोषणयुक्त आहारले समग्र शरीर र दाँतलाई पनि स्वस्थ राख्छ।
के खाने?
हरियो सागपात : हरियो सागपातले शरीर मजबुत बनाउँछ । यसमा पाइने फोलिक एसिड दाँत र गिजाका लागि पनि राम्रो हुन्छ।
फलफूल : स्याउ र गाँजरजस्ता फलफूलले ब्याक्टेरिया हटाउन मद्धत गर्छ। काँक्रो, खरबुजालगायत पानीको मात्रा प्रशस्त भएका फलफूलले दाँतलाई सफा राख्ने काम गर्छन्।
नट्स र बियाँ : क्याल्सियम र फोस्फोरसको मात्रा उच्च हुन्छ । यसले दाँतको इनामेललाई बढाउने काम गर्छ।
डेरीजन्य उत्पादन : दूध, चिज, दहीलगायत डेरीजन्य उत्पादनमा क्यान्सियम, फोस्फोरस र केसिन हुन्छ। यसले मुखमा एसिडलाई निष्क्रिय बनाउन सहयोग गर्छ। त्यस्तै, दाँत बलियो बनाउँछ।
अन्डा : अन्डामा प्रोटिन, क्याल्सियम र भिटामिन डी प्रशस्तै मात्रामा पाइन्छ। यसले दाँतलाई बलियो र स्वस्थ बनाउन सघाउ पुर्याउँछ।
पानी : प्रशस्त मात्रामा पानी पिउँदा शरीरसँग मुख पनि हाइड्रेटेड रहन्छ। जसकारण, गिजामा जम्मा भएका खानेकुराका टुक्राहरू निस्कन्छन् र दाँत सफा रहन्छ।
के नखाने ?
दाँतका लागि चिनीजन्य पदार्थ सबैभन्दा खराब हो। त्यसैले यसको प्रयोग कम गर्नुपर्छ। अर्को गुट्खा, सुपारी, पानलगायत सुर्तीजन्य पदार्थले दाँत बिगार्र्ने, डिस्कलर गर्छ र जटिल अवस्थामा मुखको क्यान्सरसमेत गराउने भएकाले यस्तो लत त्याग्नुपर्छ।
मानिसचियाका सौखिन हुन्छन्। तर, दाँतका लागि चिया राम्रो होइन । त्यही कारण चिया कम पिउनुस् । इनर्जी ड्रिंक्स पनि दाँतका लागि हानिकारक छ। गुलियो खानेकुराले मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ। दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ।
तसर्थ, गुलिया खानेकुराबाट टाढै बस्नु राम्रो हुन्छ। मिठाई, चकलेटलगायत गुलिया कुरा खाएपछि मुख कुल्ला गर्न नबिर्सनुहोस्। त्यस्तै, मैदाबाट बनेका खानेकुरा पनि कम खानु राम्रो हुन्छ। जंकफुडबाट टाढा रहनु समग्र स्वास्थ्यकै लागि राम्रो हुन्छ।
प्रत्येक ६ महिनामा नियमित चेकजाँच गरौँ
नियमित रूपमा दाँत सफा गर्ने, खानपानमा ध्यान दिने, दन्त चिकित्सकसँग ६–६ महिनामा परामर्श र मेसिनले सफा गर्ने गर्नुपर्छ। दाँत सफा गर्दा इनामेल जान्छ, दाँत कमजोर हुन्छ भन्ने भ्रम पनि छ। तर, यो सही होइन। मेसिनले सफा गर्दा गिजा स्वस्थ रहन्छ । दाँतमा अड्केका फोहोर निस्कन्छ। गिजासम्बन्धी समस्या आउँदैन। फोहोरले दाँतको हड्डी खिइनेलगायत समस्या हट्छ। फोहोर हट्दा गिजा र हड्डीमा पनि समस्या आउँदैन। ओभरअल मुखको स्वास्थ्य राम्रो हुन्छ। खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ।
कतिपय मानिसको केही–केही खाइरहने वा चपाइरहने बानी हुन्छ। दाँतको स्वास्थ्यका लागि यो राम्रो होइन। स्टेभेन कब्र्स वैज्ञानिकले प्रयोगात्मक अध्ययनबाट निकालेको निष्कर्ष छ– केही खानेकुरा खायौँ भने मुखमा ब्याक्टेरिया सक्रिय रहन्छन् र ४५ मिनेटसम्म एसिड बन्छ। त्यो एसिडले दाँतको क्याल्सियम र फस्फोरस निकालिदिन्छ।
र, दाँतमा क्याभिटी ९किरा लाग्ने समस्या० देखिन सक्छ। त्यसैले दिनमा १० वा १२ चोटि खाने गर्दा ब्याक्टेरिया लाग्ने सम्भावना धेरै रहन्छ। या त चपाइरहने बानी छाड्नुपर्यो वा केही खानेबित्तिकै कुल्ला गर्नुपर्यो। कुल्ला गर्दा खानेकुरा बाहिर निस्कन्छ र ब्याक्टेरियाले आक्रमण गर्न पाउँदैन। जति कम एसिड एट्याक हुन्छ, त्यति नै क्याभिटी बन्ने ९किरा लाग्ने० सम्भावना घट्छ।
खाना खाएपछि बिहान–बेलुका ब्रस अनिवार्य गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ। फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्नु राम्रो हुन्छ। राति सुत्नुअघि डेन्टल फ्लस गर्दा राम्रो हुन्छ।