काठमाडौँ– कुनै काममा एकाग्रता नहुनु वा छिट्टै कुनै कामबाट ध्यान भड्किनु अहिले ठुलो समस्या बनिरहेको छ। कहिलेकाहीँ त मान्छेहरूले यसलाई सामान्य ठानेर बेवास्ता गरिदिन्छन्। तर यो अटेन्शन डेफिशिट(हाइपर एक्टिभिटी डिस्अर्डर अर्थात् एडीएचडी हुन सक्छ।
यो रोगमा ध्यान केन्द्रित गर्न समस्या हुन सक्छ वा नतिजा के होला भनेर सोच्दै नसोची लगातार केही फैसला गर्ने समस्या भइरहेको हुन सक्छ। यो रोगको सिकार बच्चाहरू बढी हुन्छन्। तर एउटा गेमिङ कम्पनीले भने एडीएचडी रोगलाई ठिक गर्ने गेम बनाएको दाबी गरेको छ।
अकीली नाम गरेको यो कम्पनीले सन् २०२० मा एउटा गेम लन्च गरेको थियो। यो गेमको नाम थियो एन्डेभरआरएक्स। गेममार्फत मान्छेहरूको ध्यान केन्द्रित गर्ने, एकाग्र रहने क्षमता सुधार गर्न सकिने दाबी कम्पनीको छ। एडीएचडीको समस्या भएको बच्चाहरूको उपचारका लागि अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले प्रयोगको अनुमति दिएको यो एक मात्रै गेम हो।
सुरुमा यो गेम ८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि मात्रै लन्च गरिएको थियो। तर यही हप्ता गेमलाई ८ देखि १७ वर्षबिचका बालबालिकाका लागि समेत प्रयोग गर्ने अनुमति दिइएको छ। तर यसका लागि डाक्टरको प्रेस्क्रिप्शन भने चाहिन्छ।
गेमले कसरी गर्छ काम?
यो जम्मा २५ मिनेटको गेम हो। यसलाई चार हप्तासम्म हरेक हप्ता ५ पटक खेल्नु पर्छ। अर्थात् ४ हप्तामा २० पटक यो गेम खेलिनेछ। गेमको प्रयोग डाक्टर प्रेस्क्रिप्शन भएको ८ वर्षदेखि १७ वर्षबिचका बालबालिकामा गर्न सकिन्छ। यो गेमलाई दिमागको व्यायाम हुने अनि एकाग्रता बढाउने गरी तयार पारिएको छ। यही गेमको अर्को भर्जन पनि छ। यसलाई चाँहि वयस्कका लागि भनेर बनाइएको हो। तर एफडीएले यसलाई प्रयोगको अनुमति दिइसकेको छैन। यो गेमको नतिजा बच्चाहरूका लागि ल्याइएको भर्जनबाट भने राम्रो आएको छ।
अभिभावकहरूले पनि निगरानी गर्न सक्छन्:
अभिभावकहरूले चाहे भने एन्डेभरआरएक्स इनसाइट एपको मद्दतले बच्चाको प्रगति हेर्न सक्नेछन्। गेम प्रयोग गरिएका ७३ प्रतिशत बच्चामा यसको सकारात्मक नतिजा देखिएको एफडीएले प्रयोगको अनुमति दिनु अघि भएको सर्वेक्षणले देखाएको छ। आईओएस र एन्ड्रोइडबाट यो गेमको एप डाउनलोड गरेर ५ मिनेटको ट्रायल लिन सकिने बताइएको छ।
कति हुन्छ खर्च?
यसको प्रयोग गर्न चाँहि तपाईँसँग प्रेस्क्रिप्शन हुनु पर्नेछ। हेल्थ केयर प्रोभाइडरले तपाईँलाई यस्तो प्रेस्क्रिप्शन दिन्छन्। यसपछि विशेष खालको फार्मेसीबाट तपाईँलाई कोड पठाइनेछ। यसको सहायताले तपाईँले गेम डाउनलोड गर्न सक्नु हुनेछ । एन्डेभरआरएक्सका लागि प्रतिमहीना ९९ डलर खर्च गर्नु पर्नेछ। वयस्कहरूले यो गेमका लागि मासिक २५ डलर तिर्नु पर्नेछ। वयस्कहरूका लागि ल्याइएको गेम अफ लेबल भएकोले यसका लागि प्रेस्क्रिप्शन चाहिदैंन।