एजेन्सी– देशभर नै चिसो बढ्दै गइरहेको छ। जाडोबाट बच्न धेरैले घरमा हिटर बाल्छन्। तर, हिटरको अत्यधिक प्रयोगले विभिन्न नोक्सानी पनि हुन सक्छन्। यसबारेमा पनि समयमै ध्यान पुर्याउनु पर्छ।
जाडोमा पहिले नै हावा कडा तथा रुखो खालको हुन्छ। यस्तोमा दिनभर वा लामो समय कोठामा हिटर बाल्नुभयो भने हावामा पानीको मात्रा कम हुन्छ जसले गर्दा सुख्खापनको समस्या हुन्छ।
हिटरको निरन्तर आउने तातो हावाले तपाईंको छाला सुख्खा हुने तथा चिलाउने समस्या हुन सक्छ। तपाईंको छाला संवेदनशील छ भने दाग तथा रातो धर्सा पनि आउन सक्छन्।
केही हिटरहरुले कार्बन मोनोअक्साइड छोड्ने गर्छन्। तपाईंको कोठामा राम्रोसँग हावा पास हुँदैन र रातभर हिटर बालेर सुत्नुहुन्छ भने स्वास्थ्यका लागि एकदमै खतरनाक हुन सक्छ।
यस्तोमा स्वासप्रस्वास सम्बन्धी समस्या जस्तै दम, एलर्जी लगायत अन्य गम्भीर समस्या पनि हुन सक्छन्। कतिपयको त ज्यान नै पनि जान सक्छ।
तातो कोठामा बस्नु राम्रो तथा आनन्ददायी त हुन्छ तर, तातोबाट तपाईं बाहिर निस्कनु भयो भने चिसो महसुस हुन्छ। जसले गर्दा शरीरमा पटक(पटक तापक्रम परिवर्तन हुँदा रोग प्रतिरोधक क्षमतामा नराम्रो प्रभाव पर्न सक्छ।
रुम हिटरबाट उत्पन्न हुने तातो हावामा लामो समय बस्दा आँखामा पनि समस्या देखिन्छ। यसले आँखा पोल्ने, चिलाउने तथा हेर्दा असुविधा हुने खालको समस्या आउँछ।
त्यस्तै हिटरबाट आउने तातोले घरपालुवा जनावरलाई पनि नराम्रो असर गर्दछ। यसले विभिन्न एलर्जी र छाला सुख्खा हुने समस्या आउँछ।