सुनसरी– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको इज्जत जोगाउन भए पनि जनता समाजवादी पाटिका अशोक राईलाई विजयी गराउनुपर्ने बताएका छन्। सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनता समाजवादी पार्टीसँग तालमेल गरेको स्मरण गराउँदै नजिताए एमालेको बेइज्जत हुने बताए।
अध्यक्ष ओलीले भने, “एमालेले भोट दिन्छु भन्यो, जिताउँछु भन्यो अनि जिताउन सकेन भने बेइज्जत हुन्छ। अब एमाले त्यो बेइज्जती सहन सक्दैन। एमालेले जिताउँछु भनेपछि जिताउनुपर्छ। म एमालेका कार्यकर्ताहरूलाई भन्न चाहन्छु, रातदिन नभनी काममा डट्न र जिताउन आग्रह गर्छु।”
जनता समाजवादी पार्टी र एमालेबीचको तालमेल हुँदा सुनसरीको १ नम्बर निर्वाचन क्षेत्र जसपाको भागमा परेको छ। जसपाका अशोक राई प्रतिनिधिसभा सदस्य उमेदवार छन्। उनका लागि भोट माग्न धरान पुगेका ओलीले अशोक राई एमालेका पुराना नेता भएरभन्दा पनि जसपासँग तालमेल गरेका कारण भोट दिन आग्रह गरे।
एकल पहिचानको माग लिएर एमाले छाडेका अशोक राईप्रति कटाक्ष गर्दैै ओलीले भने, “उहाँ माननीय, मन्त्री, उपाध्यक्ष हुनुभयो, एमालेमा हुँदा सबै हुनुभयो। तर, एमाले छाडेपछि हुनुभएको छैन, अनि एमालेले जिताउनु परेन।”
अध्यक्ष ओलीले पुरानो कुरा स्मरण गराउँदै भने, “उहाँले पार्टी छोडेर गल्ती गर्नुभयो । पार्टीमा उपाध्यक्ष हुनुहुन्थ्यो, पार्टीमै बसेको भए राम्रो अवसरहरु आउँथे। ठूलै अवसर उहाँका लागि हुन्थ्यो। तर, पार्टी छाड्नुभयो।” ओलीले यसो भनिरहँदा छेउमै बसेका जसपाका उमेदवार अशोक राई हाँसिरहेका थिए।
सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रमा वाम गठबन्धन र एमाले जसपा गठबन्धनबीच कडा प्रतिस्पर्धा रहेको छ। एमालेलाई टिकट नदिएको भन्दै एमालेबाट विद्रोह गरेका मनोज मेनेङ्वो प्रतिनिधिसभा सदस्यमा खरायो चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन्।