जाडो याममा खानै पर्ने फलफूल - Chaitanya News
  • 2026-05-05
  • 16:42:42
  • मंगलबार,बैशाख २२, २०८३
  • जाडो याममा खानै पर्ने फलफूल

    जाडो याममा खानै पर्ने फलफूल

    काठमाडौँ– फलफूल शरीरको लागि कत्ति धेरै लाभदायक छ भन्ने कुरा त हामी सबैलाई थाहा छ। फलफूलमा भिटामिन, मिनरल, एन्टीअक्सीडेन्ट, फाइबर र टन्नै पोषक तत्त्वहरू पाइन्छ। तर सामान्यतः मानिसहरूमाझ चिसोमा धेरै फलफूल खानु हानिकारक हुन सक्ने धारणा पाइन्छ। चिसोमा फलफूल खाँदा चिसो महसुस हुने भएकोले पनि यस्तो सोच आएको हुन सक्छ।

    तर के तपाईँलाई थाहा छ जाडो याममा खाँदा शरीरलाई फाइदा हुने कयौँ फलफूल पनि छन्। यिनीहरूको सेवनले चिसो, रुघाखोकी र ज्वरो जस्ता रोगहरूबाट बच्न सकिन्छ। चिसो होस् वा गर्मी हरेक मौसममा फलफूलको सेवन जरुरी छ।

    स्याउ:
    स्याउमा फाइबर र एन्टीअक्सिडेन्ट समेत कयौँ मुख्य पोषक तत्त्व पाइन्छ। यसले रगतमा चिनीको स्तर कम गर्छ भने मुटुको स्वास्थ्यमा पनि लाभ पुर्‍याउँछ। स्याउमा फाइबर, भिटामिन सी र विविध एन्टीअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। यसमा क्यालोरी कम हुने भएकोले खाएपछि अघाएको महसुस हुन्छ।

    स्याउ खाँदा स्वास्थ्यमा कयौँ लाभ हुने अध्ययनहरूले पनि देखाएका छन्। यसमा क्यालोरी ९४ दशमलव ५, पानी १५६ ग्राम, प्रोटिन शून्य दशमलव ४३ ग्राम, काब्र्स २५ दशमलव १ ग्राम, चिनी १८ दशमलव ९ ग्राम, फाइबर ४ दशमलव ३७ ग्राम पाइन्छ।

    नाशपातीः
    अमेरिकी कृषि विभाग ९यूएसडीए०का अनुसार एउटा नाशपाती खाँदा ५ दशमलव ५८ ग्राम फाइबर पाइन्छ। फाइबर प्रतिरक्षा प्रणालीका लागि जरुरी छ। यसले शरीरमा गूड ब्याक्टेरियालाई बढवा दिन्छ।

    किवीः
    यूएसडीएका अनुसार एउटा किवीमा ५६ मिलिग्राम भिटामिन सी हुन्छ। यो भिटामिनको उत्कृष्ट स्रोत हो। तपाईँले बिहान खाजामा किवी खानु भनेको शरीरमा भिटामिन सी बढाउने र दिनको सुरुआतदेखि नै इम्युनिटी बूष्ट गर्ने राम्रो तरिका हो। किवी भिटामिन केको पनि उत्कृष्ट स्रोत हो।

    अनारः
    यूएसडीएका अनुसार एक कप अनारमा ७ ग्राम फाइबर पाइन्छ। यसमा १७ दशमलव ८ मिलिग्राम भिटामिन सी हुन्छ। यसमा भिटामिन के पनि भरपुर मात्रामा पाइन्छ। यो हाडको स्वास्थ्यका लागि जरुरी छ। यसमा पाइने भिटामिन शरीर, मुटु, पेट र स्किनलाई स्वस्थ राख्छ। अनारमा शक्तिशाली एन्टिअक्सिडेन्टले भरिभराउ भएको एउटा अनुसन्धानले देखाएको छ। यसले गूड ब्याक्टेरियालाई बढवा दिन्छ।