सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ। मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षाघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ। ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने आदि हुन्छ। मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्युसमेत हुन्छ।
यसकारण जाडोमा जोखिम:
गर्मी मौसमको तुलनामा जाडोमा बे्रन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ। जाडो मौसममा कम व्यायाम गरिने, उच्च रक्तचापको समस्या बढ्ने गर्छ। यसले ब्रेन स्ट्रोकसँगै अन्य रोगको संक्रमणको खतरासमेत बढी हुन्छ। त्यस्तै, जाडोमा रगत गाढा हुने गर्छ। जसको कारण नसामा दबाब पर्ने, फुट्ने सम्भावनासमेत बढेर जान्छ। फलस्वरूप ब्रेन स्ट्रोकको जोखिमसमेत बढ्छ।
कसलाई बढी जोखिम?
जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ। यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ।
कसरी थाहा पाउने?
ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोस हुने हुन्छ। अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ। तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ। अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन्।
उपचार:
बे्रन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ। जति छोटो समयमा उपचार गर्न सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ।
मस्तिष्कमा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ। रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्रमा अस्पताल पुर्याइसक्नुपर्छ।
रोगको अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट यसको उपचार सम्भव छ। यद्यपि, नेपालका अधिंकाश अस्पतालमा न्युरो सर्जन छैनन्। यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।
कारण:
ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन्। अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ।