आजभोलि सहरी क्षेत्रमा इन्डोर प्लान्ट्स रोप्ने चलन छ। ठूलो क्षेत्रफल नचाहिने र कोठामै स्वच्छ हावा मिल्ने भएकाले पनि मानिसहरू यसतर्फ आकर्षित हुँदै गएका हुन्। यसले कोठाको शोभा पनि बढाउँछ। तर, इन्डोर प्लान्ट्स कतिपय अवस्थामा लामो समयसम्म टिक्दैन। त्यही कारण मानिसहरू वाक्कदिक्क भइरहेका हुन्छन्। विशेषगरी, यस मौसममा इन्डोर प्लान्ट्सको वृद्धिदर निकै सुस्त हुन्छ र कतिपय निष्क्रिय हुन्छन्।
घरमा बिरुवा रोपेर मात्रै हुँदैन, बिरुवालाई हुर्कन उपयुक्त
वातावरण पनि चाहिन्छ । यसलाई हावा, पानी, घामको तारतम्य मिलाउनुपर्छ। घरबाहिर रोपिने बिरुवालाई जस्तो दैनिक पानी हाल्नुपर्दैन। कतिपय इन्डिोर प्लान्ट्सलाई चार–पाँच दिनमा पानी हाले पुग्छ। त्यसैले बिरुवाको हेरचाह र कुन स्थानमा राख्दा उपयुक्त हुन्छ भन्नेबारे बुझेर त्यहीअनुसार यसको हेरचाहका लागि रुटिन बनाउनुपर्छ।
पर्याप्त प्रकाश
जाडोमा दिन निकै छोटो हुन्छ। त्यसैले तपाईंले घरका इन्डोर प्लान्ट्सलाई प्रकाश प्राप्त हुने ठाउँमा राख्नुपर्छ। तर, कुन बिरुवालाई कति प्रकाश आवश्यक पर्छ भन्ने जानकारी तपाईंसँग हुनुपर्छ। किनकि, कतिपय बिरुवालाई अधिक समय सीधा प्रकाशमा राख्दा नोक्सानी पनि पुग्छ।
स्थिर तापक्रम
अधिकांश इन्डोर प्लान्ट्सले तापमानमा हुने उतारचढाव सहन सक्दैनन्। जाडोमा एकातर्फ हिटरले कोठा तताइरहेको हुन्छ, अर्कोतर्फ झ्यालबाट आउने हावाले चिसो बनाइरहेको हुन्छ। यस्तो अस्थिर तापक्रमले बिरुवालाई हानि गर्न सक्छ। त्यही कारण चिसोमा बिरुवालाई स्थिर तापक्रम हुने कोठामा लगेर राख्नुपर्छ।
सफा राख्नुस्
बिरुवालाई नियमित रूपमा सफा गर्नुपर्छ। विशेषगरी, जाडोका दौरान यो जरुरी छ। पातमा धुलो जम्दा त्यसका छिद्रहरू बन्द हुन सक्छन्। र, यही कारण बिरुवामा कीटाणु आउन सक्छ। त्यस्तै, क्षतिग्रस्त र रोगग्रस्त पातलाई हटाउनुपर्छ।