काठमाडौँ– ओठको रङ्गले शरीरको भित्री गतिविधिहरू जस्तै रगतको स्तर, बडी फङ्शन मात्रै होइन शरीरको तापक्रम समेत बताउँछ। ओठको रङ्गमा अचानक परिवर्तन देखिएको छ भने यसलाई बेवास्ता गर्ने गल्ती चाँहि नगर्नुहोला।
ओठको रङ्गले गर्ने इशारा:
हरेक व्यक्तिको ओठको रङ्ग जन्मजात नै फरक फरक हुन्छ। तर सामान्य रङ्गबाहेक ओठको रङ्गमा परिवर्तन आउन लागेको छ भने यसलाई बेवास्ता गर्नु हुन्न। किनकि यसले स्वास्थ्यसँग सम्बन्धित कयौँ सङ्केत बताइरहेको हुन सक्छ।
गुलाबी वा सेतो
ओठ अलिअलि गुलाबी, सेतो वा खैरो भयो भने हात र खुट्टा दुबैतिर चिसो महसुस हुन्छ। पेल पिंक, ह्वाइट वा ग्रे लिप्स रक्तअल्पताको लक्षण हुन सक्छ। यस्तो लक्षण देखियो भने आहारमा आइरन पर्याप्त पाइने हरियो तरकारी, खजुर आदि खानु पर्छ।
रातो वा कालो:
लगातार धूम्रपानका कारण ओठको रङ्ग गाढा रातो वा कालो हुन्छ। तर तपाईँले धूम्रपान गर्नु हुन्न तर पनि ओठको रङ्ग गाढा रातो वा कालो भएको छ भने यसको अर्थ तपाईँको डाइजेशन प्रणालीले ठिकसँग काम गरिरहेको छैन। यस्तोमा तपाईँलाई तारनतार दिशा लागिरहने, एसिडिटी वा कब्जियतको समस्या हुन सक्छ। यो समस्याबाट मुक्ति पाउन तपाईँले प्रोटिन पर्याप्त पाइने भोजन जस्तै कुखुराको मासु, दूध, अन्डा, दही आदिको सेवन गर्न जरुरी हुन्छ।
रातो:
ओठको रङ्ग रातो हुनु राम्रो मानिन्छ। तर अचानक कसैको ओठ रातो हुनु चाँहि कलेजोमा समस्याको सङ्केत हो। यस्तोमा व्यक्तिलाई बेला बेलामा खाइरहन मन लाग्छ। यसका कारण तौल बढ्न पनि सक्छ।
बैजनी वा हरियो:
ओठ बैजनी वा हरियो चाँहि जाडोका कारण हुन्छ। तर चिसो नभएको बेलामा पनि ओठको रङ्ग बैजनी वा हरियो हुनु भनेको चाँहि मुटु वा श्वासप्रश्वाससँग सम्बन्धित समस्यातर्फ सङ्केत गर्छ।
सुख्खा ओठ
ओठ सुख्खा हुनु शरीरमा पानीको मात्रा नपुगेको सङ्केत हो। लामो समयसम्म ओठ सुख्खा हुन्छ भने तपाईमा हाइपोथायराइडको समस्या हुन सक्छ। कमजोर महसुस हुनु, खोकी लाग्नु, तौल बढ्नु आदि हाइपोथायराइडको लक्षण हुन्।
बेरङ्ग ओठ:
बेरङ्ग ओठ खराब स्वास्थ्यको सङ्केत हो। कहिलेकाँही औषधिको सेवनका कारण पनि ओठको रङ्ग फेरिन सक्छ।