ललितपुरलाई रोक्दै वीरगञ्जले खोल्यो खाता - Chaitanya News
  • 2026-06-07
  • 11:59:05
  • आइतबार,जेठ २४, २०८३
  • ललितपुरलाई रोक्दै वीरगञ्जले खोल्यो खाता

    ललितपुरलाई रोक्दै वीरगञ्जले खोल्यो खाता

    काठमाडौं– ललितपुर सिटीलाई बराबरीमा रोक्दै वीरगञ्ज युनाइटेडले नेपाल सुपर लिगमा अंकको खाता खोलेको छ। मंगलबार भएको खेलमा वीरगञ्जले ललितपुरलाई २–२ गोलको बराबरीमा रोकेको हो।

    बराबरीसँगै वीरगञ्जले एक अंक जोडेको छ। ललितपुरको भने यो लगातार तेस्रो बराबरी हो र उसको ६ अंक भएको छ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता वीरगञ्जले नै लिएको थियो। उसका लागि १०औं मिनेटमा विलियम ओपोकुले गोल गरे। तर त्यो अग्रता धेरैबेर टिकेन। १३औं मिनेटमा इमोन इकेजेले वान भर्सेस वानमा बराबरी गोल गरे।

    ३९औं मिनेटमा निखिलले गोल गरेपछि पहिलो हाफमा ललितपुरले २–१ को अग्रता बनायो।

    तर दोस्रो हाफको सुरुमै वीरगञ्जले गोल फर्कायो। विलियम ओपोकुले करिव ३५ यार्डबाट हानेको फ्रिकिक क्रसबारमा लागेर फर्किएको थियो, जुन बललाई कृपाकान्त चौधरीले गोलमा परिणत गरे।

    ललितपुरले खेलमा फर्किने प्रयास नगरेको होइन, तर गोल गर्न सकेन। अन्तिम मिनेटमा कप्तान अनन्त तामाङले हानेको फ्रि किक वीरगञ्जका कप्तान समेत रहेका गोलकिपर दीप कार्कीले पञ्च गरेर गोल बचाएपछि वीरगञ्जले १ अंक सुनिश्चित गरेको छ।