गर्दनको दुखाइ निको पार्न के गर्ने? यस्ता छन् आफै गर्न सकिने उपायहरु - Chaitanya News
  • 2026-05-06
  • 20:51:05
  • बुधबार,बैशाख २३, २०८३
  • गर्दनको दुखाइ निको पार्न के गर्ने? यस्ता छन् आफै गर्न सकिने उपायहरु

    गर्दनको दुखाइ निको पार्न के गर्ने? यस्ता छन् आफै गर्न सकिने उपायहरु

    काठमाडौं– लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ। यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ। हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउँछौं होला। अनि त गर्दन दुख्ने र अनेकथरी रोग लाग्ने त भइहाल्छ नि। हामी गर्दनको पीडा निको गर्ने केही योगासनहरूको चर्चा गर्दैछौं।

    बालासन:
    यो आसनले गर्दनको पीडामा राहत दिन्छ र ढाडको पीडाबाट पनि मुक्त गर्छ। यो आसन गर्नका लागि योगा म्याटमा घुँडा टेकेर बस्नुस्। अब शिरलाई जमीनमा पु–याउने प्रयत्न गर्नुस्। आफ्ना हातहरूलाई शिर नजिक राख्दै अगाडितर्फ सीधा राख्नुस्। त्यतिखेर तपाईंका हत्केलाले भुइँ छोएको हुनुपर्छ। नितम्बलाई घुँडातर्फ लगेर सास छोड्नुस्। यस स्थितिमा १५–२० सेकेन्डसम्म बस्नुस् र सामान्य स्थितिमा आउनुस्।

    यो आसन गर्दा गर्दनको पीडा हराउँछ र मन पनि शान्त हुन थाल्छ अनि कम्मर, तिघ्रा र पिडुँलाहरू लच्किलो हुन थाल्छन्।

    मत्स्यासन:
    यो आसनले गर्दन र काँधका मांसपेशीलाई तनावमुक्त गराउँछ। यसका लागि म्याटमा ढाड अड्याएर पल्टिनुस्। अब आफ्ना कुहिनाको सहारामा शिर र शरीरलाई भुइँमा राख्नुस् अनि ढाडको माथिल्लो भाग र गर्दन चाहिँ भुइँबाट माथि उठाउनुस्। आफ्ना हातहरूलाई सीधा गरेर पेटमा राख्नुस्। जतिबेर यस अवस्थामा रहन सक्नुहुन्छ रहनुस् अनि सामान्य स्थितिमा फर्किनुस्।

    विपरीतकर्णी आसन:

    यो आसन गर्दा गर्दनको पछिल्लो भागलाई मालिश गरेको जस्तो फाइदा हुन्छ र थकान हट्छ अनि गोडा बाउँडिएको पनि ठीक हुन्छ। यो आसन गर्नका लागि ढाड पल्टाउनुस्। आफ्ना गोडाहरूलाई भित्ताको सहारामा माथि उचाल्नुस्। आफ्ना हातहरू फैलाएर शरीरको दुवैतर्फ भुइँमा राख्नुस् अनि हत्केलालाई आकाशतर्फ खुला राख्नुस्।

    केही सेकेन्ड यस मुद्रामा रहँदै गहिरो सास फेर्नुस् र बिस्तारै सामान्य अवस्थामा आउनुस्। यसबाहेक मार्जरी आसन, भुजंगासन र शवासनले पनि पीडा हटाउन मद्दत गर्छन्। एजेन्सीको सहयोगमा