अण्डा कसरी खाने, कति खाने? - Chaitanya News
  • 2026-05-05
  • 07:11:54
  • मंगलबार,बैशाख २२, २०८३
  • काठमाडौं– अण्डालाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। धेरैजसो पन्छीको अण्डा खाइने भए पनि संसारभर धेरैले खाने अण्डाचाहिँ कुखुराकै हो। यसबाहेक हाँस, बट्टाई, अष्ट्रिच आदिका अण्डा पनि धेरैले रुचिपूर्वक खाने गरेका छन्। वन्य पन्छीहरू ढुकुर, कालिज तथा तित्राका अण्डा पनि निकै रुचाइन्छ। यसो भनौँ, मानिसहरू पाएजति पन्छीका अण्डा खान बाँकी राख्दैनन्। ती सबैका अण्डामा केही फरक विशेषता हुने भए पनि सामान्यत सबैमा एकै प्रकारको गुण पाउन सकिन्छ।

    ‘सन्डे होस् वा मन्डे, रोज खाओ अण्डे’ भन्ने हिन्दी भनाइ छ। यो भनाइले अण्डा खान प्रोत्साहित गरिरहेको देखिन्छ।

    अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन्। तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ? अनि यसलाई कसरी पकाउनु पर्छ?

    चीनमा झण्डै दश लाख मानिसमा गरिएको एक अध्ययन अनुसार दिनमा कम्तीमा एउटा अण्डा खाएर मुटु रोगको जोखिम कम गर्न सकिन्छ।

    स्वास्थ्य विशेषज्ञहरू शरीरलाई स्वस्थ राख्न दैनिक अण्डा सेवन गर्न सल्लाह दिने गर्छन्। साथै आवश्यकता भन्दा बढी मात्रामा अण्डाको सेवन गर्नाले स्वास्थ्यमा हुनसक्ने हानिको बारेमा पनि बताउँछन्।

    कति खाने अण्डा?

    पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन्। अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ। यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ।

    व्रिटेनका पोषणविद् डा. प्रmन्की फिलिप्स अनुसार अण्डा जति पनि खान सकिन्छ। त्यसमा कुनै शंका छैन। तथापि अधिक मात्रामा अण्डाको सेवनले शरीरलाई अन्य खानाबाट पाइने आवश्यक पोषण तत्व प्रदान हुँदैन। त्यसैले त पोषणविद्हरू सन्तुलित आहार सेवन गर्ने सल्लाह दिने गर्छन्।

    फिलिप्स भन्छन्,’ अण्डा प्रोटिनको राम्रो स्रोत हो। हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ। शरीरको आवश्यकता भन्दा दुई वा तीन गुणा बढी बढी प्रोटिनले मिर्गौलामा नराम्रो असर पार्नसक्छ।

    अण्डामा प्रोटिनका साथै कोलेस्ट्रोल हुने गरेको तथ्य फेला पारेपछि व्रिटिश हार्ट फाउन्डेसनले सन् २००७मा हप्तामा तीन वटासम्म अण्डा खाने सुझाव दिएको थियो।

    कोलेस्ट्रोल

    नेसनल हेल्थ सर्विसकी हालिया सलाहका अनुसासा अण्डामा केही मात्रामा कोलेस्ट्रोल त हुन्छ तर उक्त कोलेस्ट्रोलको मात्रा रगतमा स्याचुरेटेड फ्याटका कारण आउने कोलेस्ट्रोलभन्दा कम हुने गर्छ।

    यस अर्थमा भन्नुपर्दा अण्डामा भएको कोलेस्ट्रोल खासै ठूलो समस्या होइन। यसले स्याचुरेटेड फ्याटका कारण बनेको कोलेस्ट्रोलले जस्तो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँदैन।

    हार्ट युकेका अनुसार अण्डामा करिब ४।६ ग्राम अर्थात एक चम्चा फ्याट हुन्छ , जसमध्यको एक चौथाइ भाग मात्र स्याचुरेटेड हुन्छ। जसले गर्दा अण्डाकै कारण शरीरको कोलेस्ट्रोलको स्तरमा भने खासै फरक पर्दैन।

    साल्मोनिया व्याक्टेरिया

    व्रिटेनकी पूर्व स्वास्थ्य मन्त्री एडविना कुरीले डिसेम्बर १९९८८ मा भनेकी थिइन्, व्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनिया व्याक्टेरिया हुने गर्छ। यो व्याक्टेरिया स्वास्थ्यका लागि घातक मानिन्छ। त्यही कारण उनको कुराले व्रिटेनमा हलचल मच्चिएको थियो। यसकै कारण एडविनाले राजीनामा दिनु परेको थियो।

    अण्डालाई कसरी पकाउने?

    जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ। धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन्। अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ।

    विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन्।

    अण्डालाई कसरी स्टोर गर्ने?

    अण्डा किन्दा कहिल्यै पनि फुटेको अण्डा किन्नु हुँदैन। यसमा माटो वा व्याक्टेरिया छिर्ने खतरा हुन्छ। त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन्।

    अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ। अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सुरक्षित राख्न सकिन्छ।

    अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगायत सकिन्छ। एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ। अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने नडुबेमा बासी हो।

    सामान्यतः एउटा कुखुराले अण्डा पारेको २८ दिनसम्म उक्त अण्डा खानयोग्य रहन्छ।

    अण्डाको एलर्जी?

    कतिपय व्यक्तिहरूलाई अण्डाको एलर्जी हुनसक्छ। पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई यो समस्या धेरै हुने गर्छ।

    अण्डाको एलर्जी भएमा यी लक्षण देखा पर्ने गर्छ।

    १. मुख वरिपरिको भाग रातो हुने, सुन्निने

    २. पेट दुख्ने

    ३. वान्ता आउने

    ४.दिसा लाग्ने

    कमैलाई मात्र यो समस्याका कारण ज्यान जाने खतरा बढी हुन्छ तर पनि एलर्जी भएमा चिकित्सकसित परामर्श लिनु जरुरी हुन्छ।

    डा. फिलिप्स भन्छन्, ‘यस किसिमको कुनै एलर्जी छैन, उनीहरूले अण्डालाई कुनै पनि तरिकाले पकाएर खान सक्छन् तर अण्डालाई कसरी पकाइन्छ भन्ने कुरामा भने विशेष ध्यान दिन जरुरी छ। बीबीसीबाट