भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १४ जना इन्जिनियर पठाउँदै सहरी विकाश मन्त्रालय - Chaitanya News
  • 2026-11-21
  • 22:21:44
  • शनिबार,मंसिर ०६, २०८३
  • भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १४ जना इन्जिनियर पठाउँदै सहरी विकाश मन्त्रालय

    भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा १४ जना इन्जिनियर पठाउँदै सहरी विकाश मन्त्रालय

    काठमाडौँ– सहरी विकास मन्त्रालयले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा इन्जिनियर पठाउने भएको छ।

    मन्त्रीस्तरीय निर्णयमार्फत मन्त्रालयले तत्कालका लागि अस्थायी आवास बनाउन १४ जना इन्जिनियर पठाउन लागेको हो। त्यसका लागि पहिला स्थानीय तहलाई अस्थायी आवास निर्माणमा सरकारले पैसा उपलब्ध गराउनुपर्नेछ।

    अस्थायी आवास निर्माणका लागि सरकारले यसअघि नै ५० हजार रुपैयाँ दिने निर्णय गरिसकेको छ । अहिले त्यहाँ जाने इन्जिनियरलाई तालिम दिएर तयारी अवस्थामा राखिएको छ।

    सुरुमा अस्थायी आवास कस्तो बनाउने भनेर सिकाउँछन् । त्यसपछि भूकम्पप्रतिरोधी घर बनाउनेबारे भूकम्प प्रभावित पालिकाका सबै इन्जिनियरलाई प्रशिक्षित गर्ने बताइएको छ। पछि पालिकाले त्यहीअनुसार प्राविधिक परिचालन गर्ने जनाइएको छ। भूकम्प प्रभावित जिल्लामा जाने १७ जना इन्जिनियरको नाम भए पनि अहिले १४ जना मात्र पठाउन लागिएको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको भनाई छ।

    मन्त्रिपरिषद् निर्णयमा सहरी विकासले अस्थायी आवास निर्माणका लागि सम्बन्धित पालिकाका प्राविधिकमार्फत प्राविधिक सहयोग उपलब्ध गराउने भनिएकाले त्यहीअनुसार सहयोग गरिने उनको भनाइ छ।

    आयोजना कार्यान्वयन इकाईका अनुसार पालिकामा रकम गएपछि लाभग्राहीसँग सम्झौता गरेर बैंक खातामा पठाएपछि जस्तापाता किनेर अस्थायी टहरा निर्माणको काम अघि बढाइने छ। अहिले जाजरकोट र रुकुम पश्चिममा इन्जिनियर पठाइनेछ । त्यसमा पनि बढी प्रभावित भएका पालिकामा प्राविधिक पुग्नेछन्। दुई जिल्लाका पालिका भेरी, नलगाढ, छेडागाड, कुसे, बारेकोट, जुनीचाँदे, शिवालय, आठबिसकोट, सानीभेरी, चौरजहारी र त्रिवेणीमा बढी घर क्षति भएका छन् ।