काठमाडौँ– गाजास्थित हमास समूहले कब्जामा लिएका ४१ जनालाई रिहा गरिसकेको छ। पहिलो पटक शुक्रवार हमासले १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो।
त्यस्तै दोस्रो पटक १७ जनालाई रिहा गरेको हो । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको छ।
हमासले दुई–दुई पटक बन्धकहरू छोडिसक्दा पनि नेपालका विपिन जोशी भने पर्न सकेका छैनन्। गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी सहितकालाई बन्धक बनाएर लगेको थियो।
अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन्। इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ।
राजदूत कान्ता रिजालले कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताइन्। ‘कहिले रिहा हुन्छन् भन्नेबारे हामीलाई केही जानकारी हुँदैन। रिहा हुने भयो भने केही समय अगाडि मात्रै हामीलाई जानकारी गराइन्छ।’ उनले भनिन्।
जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ। दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो।
त्यस्तै इजरायलसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दै आएको छ। तर पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन्। राजदूत रिजालले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताइन्।
सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ। तर, त्यो प्रयासले सार्थकता पाउन सकेको छैन। हमास समूहले १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ।
सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ। हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठन (आईसीआरसी) का प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन्।
कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम भएको थियो। त्यो बीचमा बन्दी रिहा गर्ने सम्झौता भएको थियो। सोही अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आएको छ।