हमास समूह र इजरायलबीच युद्धविरामको सम्झौता हुन सक्ने सम्भावना बढ्यो, कतारमा बैठक बस्दै - Chaitanya News
  • 2026-11-21
  • 22:13:45
  • शनिबार,मंसिर ०६, २०८३
  • हमास समूह र इजरायलबीच युद्धविरामको सम्झौता हुन सक्ने सम्भावना बढ्यो, कतारमा बैठक बस्दै

    हमास समूह र इजरायलबीच युद्धविरामको सम्झौता हुन सक्ने सम्भावना बढ्यो, कतारमा बैठक बस्दै

     

    हमास समूह र इजरायलबीच युद्धविरामको सम्झौता हुन सक्ने सम्भावना बढेर गएको छ । हमासका अधिकारीहरू युद्धविरामका लागि इजरायलसँग सम्झौताको नजिक पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    दुवै पक्षबीच कतारमा वार्ता भइरहेको र त्यसमा कतारले मध्यस्थता गरिरहेको बीबीसीले जनाएको छ । प्यालेस्टाइनी मिडियाका अनुसार हमासका नेता इस्माइल हानियाले भनेका छन्, ’हामीले कतारमार्फत आफ्नो प्रतिक्रिया दिएका छौँ, र हामी युद्धविराम सम्झौतामा पुग्न नजिक छौँ ।’

    यसबारे इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले अपहरण गरेका बन्धकहरू रिहाइका लागि सम्झौताको नजिक पुगेको संकेत गरेका थिए । उनका अनुसार इजरायलले आक्रमण रोकेमा हमासले केही बन्धकहरूलाई रिहा गर्न सक्नेछ ।

    हमासले बन्धकहरू रिहा गर्ने अफवाह फैलिएको सम्बन्धमा पत्रकारले सोधेको प्रश्नमा बाइडेनले भने, ’म पनि यो कुरामा विश्वास गर्दछु ।’

    मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि रिहा भएका बन्धकहरूलाई सहयोग गरेको थियो । संगठनले पनि आफ्ना प्रमुख हमासका अधिकारीहरूलाई भेट्न कतारमा रहेको बताएको छ । यी घटनाक्रमले बन्धकहरूको रिहाइबारे छिट्टै सहमति हुने आशा जगाएको छ ।

    बीबीसीका जेरुसेलम संवाददाता टम ब्याटम्यानले लामो युद्धविरामको बदलामा केही बन्धकहरूलाई रिहा गर्ने सम्झौता हुनसक्ने बताएका छन् । हमासका लडाकुले गाजामा आक्रमणका क्रममा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि अपहरण गरेको बताइएको छ ।

    इजरायली सेनाले जोशी हमासको अपहरणमा परेको र अहिले पछिल्लो अवस्था भने अज्ञात रहेको बताएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।