बलिउडका गीतकार समीर अञ्जानलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । काठमाडौंको लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार संघ नेपालले शनिबार उनलाई एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको हो ।
समीर विश्वमै सबैभन्दा बढी गीत लेख्ने गीतकार समेत हुन् । विश्वमा सबैभन्दा बढी गीत लेखेबापत ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा नाम लेखाएका समीरले ६ सय ५० भन्दा बढी चलचित्रका लागि चार हजारभन्दा बढी गीत लेखेका छन् ।
कार्यक्रममा समीरले नेपाली भाषा धेरै प्रिय रहेको बताए । उनले नेपाली भाषा युद्धमा बोल्दा पनि माया गरेको जस्तो लाग्ने किसिमको मिठासपूर्ण रहेको बताए । उनले आफू नेपालमा पहिलो पटक आएको र नेपालका बारेमा धेरैकुरा लेख्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा साहित्यकार वसन्त चौधरीले समीर अञ्जान कसैका लागि पनि अञ्जान नाम नभएको बताए । उनले मानिसहरूले उनका गीत सुनेर र गुन्गुनाएर माया प्रकट गर्ने बताए । उनले अञ्जानले भारतीय गीतहरू उल्लेख्य रूपमा रचना गरेको स्मरण गरे। उनका गीतले हरेक मानिसलाई जिउन सिकाउने बताए ।
गीतकार समीरका ‘परदेशी परदेशी’, ‘तुम पास आए’, ‘मेरा दिल भी कितना पागल हे’, ‘कभी खुसी कभी गम’, ‘मुझे निन्द ना आए’, ‘तुम दिलकी धडकन मे’ लगायतका गीत लोकप्रिय रहेका छन् ।