ठमेलमा सिसि क्यामेरा जडान सुरु - Chaitanya News
  • 2026-11-21
  • 21:47:27
  • शनिबार,मंसिर ०६, २०८३
  • ठमेलमा सिसि क्यामेरा जडान सुरु

    ठमेलमा सिसि क्यामेरा जडान सुरु

     

    सङ्घीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सिसि क्यामेरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा सीसी क्यामेरा जडान सुरु गरिएको हो ।

    परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसि क्यामेरा जडान सुरु गरिएको बताए ।

    उनका अनुसार ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवतीबहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र १ सय १२ वटा सीसी क्यामेरा जडान हुनेछन् ।

    यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सीसी क्यामेराको अध्ययन गरेको थियो ।

    ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव विमल धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि परिषद्को अगुवाइमा सीसी क्यामेरा जडानलाई अगाडि बढाइएको बताए ।