काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्यायो ‘काञ्जी हाउस’, १० मेट्रिकटन साइलेज खरिद - Chaitanya News
  • 2026-11-21
  • 21:33:20
  • शनिबार,मंसिर ०६, २०८३
  • काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्यायो ‘काञ्जी हाउस’, १० मेट्रिकटन साइलेज खरिद

    काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्यायो ‘काञ्जी हाउस’, १० मेट्रिकटन साइलेज खरिद

     

    सार्वजनिक स्थानका छाडा चौपाया व्यवस्थापन गर्ने मुख्य उद्देश्यले काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।

    काठमाडौंका मुख्य सडक, नदी किनारा, उद्यान, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने जनाउँदै महानगरले यस्ता बेवारिसे चौपायाको व्यवस्थापन गर्ने दायित्व पूरा गर्न काम सुरुआत गरेको जनाएको छ । महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यससम्बन्धी व्यवस्था छ ।

    उनले भने, ’काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिकटन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि दुई स्थानीयवासीलाई दैनिक ज्यालादारीमा लिएका छौँ ।’

    दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायतको प्रबन्ध गरिसकेको छ ।

    उनले भने, ’सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् र छाडा चौपायाकै कारण सवारी दुर्घटनासमेत हुने भएकाले तीनलाई व्यवस्थापन गर्न सुरु गरिएको हो ।’

    काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको हो । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरले कर्मचारी खटाउने छ । थप पूर्वाधार निर्माण तथा मर्मतसम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरले नै गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध पनि महानगरको जिम्मामा छ । यस ठाउँमा एक सय २६ रोपनी जमिन छ । सार्वजनिक चौपाया व्यवस्थापनसँगै सडक दुर्घटना कम हुने महानगरले विश्वास लिएको छ ।

    छाडा चौपाए व्यवस्थापनमध्येकै चौपाया लिलामी एउटा विधि थियो । सडकका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७÷५८ एक वर्षमा १६० गाईबाच्छा महानगरले लिलामी गरेको थियो । आर्थिक वर्ष २०७०÷२०७१ मा ३८८ चौपाया लिलामी गरियो । त्यस समयमा टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो ।