सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ भ्रमणका लागि काठमाडौं ओर्लिए - Chaitanya News
  • 2026-11-21
  • 21:07:07
  • शनिबार,मंसिर ०६, २०८३
  • सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ भ्रमणका लागि काठमाडौं ओर्लिए

    सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ भ्रमणका लागि काठमाडौं ओर्लिए

     

     

    चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँचदिने भ्रमणका लागि काठमाडौं ओर्लिएका छन् । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

    पाँचदिने वाङको भ्रमणमा उच्चस्तरीय राजनीतिक भेटघाट हुने कार्यक्रम रहेको छ । साथै उनी काठमाडौं बाहिरको यात्रामा निस्कने पनि कार्यक्रम रहेको छ । नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसमेत साथै लिएर आएका वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे छलफल गर्नेछन् ।

    चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो । त्यतिबेला नेपाल र चीनका नाकाहरू सञ्चालन गर्ने, सीमानाका पूर्वाधारहरू व्यवस्थापन गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नै २७ कात्तिकबाट मुस्ताङको कोरला नाका खुल्दैछ ।

    वाङले काठमाडौं ओर्लिएकै दिन आज उपराष्ट्रपति रामसहाय यादवलाई भेट्नेछन् । बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनितादेवीसँग भेट गर्ने कार्यक्रम छ । साथै अध्यक्ष तिमिल्सिनाले तिब्बत पार्टी सचिव वाङको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् ।

    चिनियाँ नेता वाङ २४ कात्तिकमा पोखरा जानेछन् । पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसँग उनको भेटवार्ता हुनेछ । सोही साँझ मुख्यमन्त्री पाण्डेले उनको सम्मानमा रात्रिभोज आयोजना गर्दै छन् । पोखरामा रहँदा वाङले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।