ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ। केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ। जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ। बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ।
केही सावधानी र घरेलु विधिले पनि ओठ फुट्नबाट बचाउन सकिन्छ। चिसो मौसममा बाहिर ननिस्केमा पनि ओठ फुट्नबाट बचिन्छ, तर यो सम्भव हुँदैन। त्यसैले बाहिर निस्कनुभन्दा अगाडि कुनै तैलीय पदार्थ ओठमा दल्ने र केही छिनपछि सूतीको कपडाले हल्का पुछेर निस्केमा केही रक्षा हुन सक्छ।
पहिलो विधि भनेको ओठ चुस्ने वा चाट्ने वानी हटाउनु पर्छ। ओठ फुट्ने धेरैजसो व्यक्तिहरू बारम्बार जिब्रोले ओठ चाट्छन्। यसो गर्दा केही सन्चो भएजस्तो लाग्छ तर थुक सुकेपछि पहिलेको भन्दा झन् सुख्खा हुन्छ। बारम्बार ओठ चाटिरहँदा ओठको छाला वरिपरि कालो हुनजान्छ। विशेष गरी यो बालबालिकालाई देखापर्ने समस्या भए पनि कहिलेकाहीँ ठूला व्यक्तिहरूमा पनि देखापर्छ।
घरेलु उपचारमा ओठमा मह लगाउँदा ओठ फुट्दैन। त्यसैगरी घीउ र नरिवलको तेल लगाउँदा पनि ओठ फुट्नवाट बच्न सकिन्छ। राती सुत्ने बेलामा घरमै पाइने घिउ, मखन, दूधको तर आदि हलुका तरिकाले ओठमा दल्नाले फाइदा पुग्छ।
शरीरमा पानीको मात्रामा कमी हुँदा ओठ, गाला, हात, खुट्टा फुट्न सक्छ। त्यसैले पानी धेरै पिउनु पनि यो समस्याबाट बँच्ने उत्तम विधि हो। वाहिरी वातावरणमा जानु पर्दा लिप जेल, लिप गार्ड वा लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ।
जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ। घरेलु विधि प्रयोग गर्दा पनि ओठ फुट्ने समस्या देखिएमा छाला रोग विशेषज्ञको सल्लाह लिनुपर्छ। कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ। चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ। कहिले काँही शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ।
ओठ फुट्दा सुरुआतमा ओठको माथिल्लो भागमा के–के भएजस्तो हुन सक्छ। ज्वरो आएको बेला वा जाडो भएको बेला यो बढी हुन्छ। यस्तो बेलामा पहिले छाला रातो हुन्छ, चिलाउँछ घाउजस्तो भएर सुन्निन्छ। यस्तो बेलामा ऐना हेरेर हातले ती घाउ वा फोकाहरू छुन मन लागिरहने वा जिब्रोले चलाइरहन मन लाग्ने हुन्छ। यस्तो किसिमको घाउ एक प्रकारको जीवाणुबाट हुन्छ। कसैकसैलाई यो बारम्बार भइरहन्छ। यो बेलामा घाउलाई सकेसम्म सफा र सुख्खा राख्नुपर्छ। कहिलेकाहीँ मात्रै यसमा पीप आउन सक्छ। हातले छुने गर्नु हुँदैन।
यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन्। यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थरतैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ।