के हो र किन जान्छ भूकम्प? - Chaitanya News
  • 2026-11-21
  • 20:57:13
  • शनिबार,मंसिर ०६, २०८३
  • काठमाडौं– भूकम्प दैवी तथा प्राकृतिक विपत्ति हो। भूकम्प जाँदा अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो क्षति हुन्छ।

    एक सेकेन्डमा सयौंको ज्यान लिन सक्ने भूकम्प भनेको के हो? यो कसरी कुन ठाउँमा जान्छ त? भन्ने प्रश्न धेरैको मनमा उब्जिने गर्छ।

    भूवम्प विद्का अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो। भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो आणविक परिक्षणका कारण। पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरूसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ।

    पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ। जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ। नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ। यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरू पैदा हुन्छन्। जसले सतहमा तैरिरहेका महादिपहरूलाई चलायमान बनाउँदछन्।

    यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ। जब एउटा भाँडोमा हामि पानी तताउँछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ। हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ। यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ।

    साना साना भूकम्प बेलाबेलामा गइरहे एकैचोटी ठूलो महाभूकम्प आउने खतरा कम हुन्छ। किनकि त्यसो हुँदा प्लेट एक आपसमा घिस्रिँदा सञ्चित भएको शक्ति थोरै थोरै गर्दै निस्तेज हुन्छ। युनिभर्सिटी अफ कोलोराडोका भुगर्भ्विद् रजर विल्हामले प्रख्यात जोर्नल नेचरमा सन् २००१ मा प्रकाशित गरेको सोधपत्रले पश्चिम नेपालमा भने महाभूकम्पको खतरा रहेको देखाएको थियो।

    काठमाडौंमा २०७२ साल बैशाख १२ गते ७.४ रेक्टर स्केलको महाभूकम्प गएको थियो। त्यसपछि थुप्रै पराकम्प गएका छन्। यसले महाभूकम्पको सम्भावना थोरै कम गरेको उनले बताएका थिए।

    नेपालको नजिक समुन्द्र नभएकोले सुनामीका चिन्ता छैन। भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भुकम्पबाट हुने क्षति धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    घर बनाउँदा भौगोलिक नक्शाहरूको अध्ययन गरी चट्टानी भुभाग माथि जग बनाउनु राम्रो हुन्छ। जस्तै पोखराको भौगोलिक बनावट खोक्रो तथा कमजोर भएकाले भूकम्प गएमा त्यहाँ धेरै क्षति हुने सम्भावना छ।

    पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो। भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प स्यालो भएको भंगर्व विद्ले बताएका थिए।

    भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ।

    बडि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पुर्‍याउँछ।

    अर्को कुरा भूकम्पको मापन कसरी हुन्छ भन्ने पनि धेरैको मनमा लाग्ने गर्छ। भूकम्प जहिले पनि रेक्टरस्केल र इन्टेन्सिटी गरी दुई किसिमले मापन गरिन्छ। रेक्टरस्केलले भूकम्पको क्षमता अर्थात गति मापन गरिन्छ भने इन्टेन्सिटीले भूकम्पले गरेको क्षतिको मात्रालाई हेरेर मापन गरिन्छ।

    भुकम्पबाट बच्न पूर्व तयारी स्वरुप सबैभन्दा पहिला आफू र आफ्नो परिवारका लागि सुरक्षित ठाउँ पत्ता लगाउने, झट्का थाहा पाउने वित्तिकै आगोको स्रोत तत्काल बन्द गर्ने, हतारमा आत्तिएर बाहिर नभाग्ने, कम्तीमा एउटा ढोका खोल्ने, घरबाहिर हुँदा टाउको सुरक्षित राख्ने र जोखिमयुक्त वस्तुबाट बच्ने गर्नुपर्छ।

    त्यस्तै डिपार्टमेन्ट स्टोर वा प्रदर्शनी हलजस्ता ठूला व्यावसायिक केन्द्रमा हुदा त्यहाका सुरक्षाकर्मी वा कर्मचारीले भने बमोजिम गर्ने, सवारी साधन चलाउदा बायातर्फ मोडेर पार्क गर्ने, निषेधित क्षेत्रमा नलाने, पहिरो, ढुंगा, तथा चट्टान आदिबाट सावधान रहने, सुरक्षित ठाउतर्फ जादा अत्यावश्यक थोरै सामान मात्र बोकेर हिड्ने, हल्लाको पछि नलाग्ने र सही सूचना प्राप्त भएपछि मात्र सुरक्षित स्थलतर्फ लाग्ने गर्नुपर्छ।

    शुक्रबार राति गएको विनासकारी जाजरकोट भूकम्पले यतिबेला पश्चिम नेपाललाई प्रभावित पारेको छ। भूकम्पले ठूलो धनजनको क्षति गरेको छ। त्यसैले उक्त क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न भूगर्व विद्ले आग्रह गरेका छन्।

    भूकम्पपछि पनि ठूला पराकम्पको जोखिम कायमै हुने भएकाले सुरक्षित रहन आग्रह गरिएको हो।