अब नेपाल टी-२० विश्वकपमा - Chaitanya News
  • 2026-06-07
  • 10:26:15
  • आइतबार,जेठ २४, २०८३
  • काठमाडौं- नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ का लागि छनोट भएको छ।

    शुक्रबार मुलपानी मैदानमा भएको आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपको यात्रा तय गरेको हो।

    जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको छ।

    युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

    नेपालको जितमा आसिफ शेखले अर्धशतक प्रहार गर्दै ठूलो योगदान पुगाए। आसिफले नटआउट ५० बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै रोहित पौडेलले २० बलमा नटआउट ३५ रन जोडे।

    ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट हुँदा गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए। उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे।

    त्यसअघि शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ गरेको युएईले ९ विकेटको क्षतिमा १३४ रन जोड्यो।

    तस्वीरमा नेपालको जित

    युएईका लागि वृत्य अरिवन्दले अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए।

    आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन्। सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे। वासीमले १६ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

    नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे। नेपालका लागि कुशल मल्लले १४औं ओभरमा चौथो विकेट लिए। उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे।

    नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए। उनले युएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए। त्यतिबेला युएईले १५.५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो।

    nepal_8.jpg

    सन्दीपले १८औं ओभरमा मेडन विकेट लिएका थिए। उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन्।

    बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए। उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए। कुशलले ३ ओभरमा ११ रन खर्चिए।

    सन्दीप लामिछानेले २ विकेट लिए। सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए। सन्दीपले १४ बल डट फ्याँकेका थिए।

    यससँगै १० वर्षपछि नेपाल दोस्रो पटक विश्वकपमामा छनोट भएको छ।

    नेपालले सन् २०१२ युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।

    nepal_13.jpg

    नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो। जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो। बंगलादेशमा भएको टी-२० विश्वकप २०१४ खेलेर नेपालले इतिहास बनाएको थियो। विश्वकप खेलेपछि नेपाली क्रिकेटको उचाइ बढ्दै गइरहेको छ।

    सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन। आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहँदै बाहिरिएको थियो।

    सन् २०२१ मा युएईमा भएको विश्वकपका लागि २०१९ मा सिंगापुरमा एसिया छनोट खेल भएको थियो। जहाँ नेपालले खराव प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो।

    nepal_16.jpg

    सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपको छनोटमा पनि नेपाल सफल भएन। दुई वर्षअघि ओमानमा भएको छनोटमा नेपालले समूह चरणमा सहज जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो। तर सेमिफाइनलमा जिते हात पारे विश्वकपमा पुग्ने खेलमा भने नेपाल असफल भयो।

    फागुन २०७८ मा ओमानमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदा ८ वर्षपछि विश्वकप खेल्ने सपना चकनाचुर भएको थियो।

    नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्‍यो। घरेलु मैदानमा भएको सेमिफाइनलमा युएईलाई पराजित गर्दै नेपाल विश्वकपमा छनोट भयो। यससँगै नेपालले १० वर्षमा दोस्रो पटक विश्वकप खेल्न लागेको हो।