बाजुरा– जिल्ला प्रशासन कार्यालय बाजुराले पछिल्लो समयमा पटक पटक गइरहेका भूकम्पले बाजुराका ७ हजार १३० घरमा क्षति भएको जनाएको छ। पटक पटक भूकम्प गइरहने भएकाले सुदूरपश्चिमका बासिन्दा त्रसित बन्दै आएका छन्।
बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ।
भूकम्पले बाजुरामा १ हजार ३८३ घर पूर्ण रुपमा क्षति भएका छन्। त्यस्तै आंशिक रुपमा ५ हजार २९ र ७१८ जोखिम गरेर ७ हजार १ सय ३० घरमा क्षति भएको प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए।
खप्तडछेडेदह गाउँपालिकामा मात्रै ९८९ घर पूर्ण रुपले क्षति भएको प्रशासनले जनाएको छ।
बडिमालिकामा ११४, त्रिवेणीमा ११०, बुढिगंगामा १२६ र बुढिनन्दा नगरपालिका १७ घरमा पूर्णरुपमा क्षति भएको छ।
गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पूर्ण क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ।
बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पूरै चिराचिरा भएकाले बस्न लायक नभएको स्थानीयबासिन्दाले बताएका छन्।
पीडितहरु अहिलेको चिसोमा पनि पालमा रात काट्न बाध्य रहेको बुढिगंगा नगरपालिका १० का भरत कुँवरले वताएका छन । पालमा बस्नुपर्दा गर्भवती, सुत्केरी र बालबालिका सबैभन्दा बढी प्रभावित भएको उनले बताए।
भूकम्प प्रभावितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन्।