दुर्घटना रोक्न ट्राफिकको विशेष टोली परिचालन - Chaitanya News
  • 2026-11-21
  • 20:18:54
  • शनिबार,मंसिर ०६, २०८३
  • दुर्घटना रोक्न ट्राफिकको विशेष टोली परिचालन

    दुर्घटना रोक्न ट्राफिकको विशेष टोली परिचालन

     

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियम उल्लङ्घन गर्नेविरुद्ध कारबाही अभियान तीव्र बनाएको छ ।

    नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौं उपत्यकाको तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा मात्रै एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ ।

    उनले सोमबार बिहानदेखि आज बिहान ६ बजेसम्ममा मापसे गरेर सवारी चालाउने मात्रै ७५ जना चालकलाई कारबाही गरिएको बताए । यस्तै लेन मिच्ने २१, रेडलाइट क्रस गर्ने १२, अनावश्यकरूपमा हर्ज बजाउने १७, नम्बरप्लेट नराखी सवारी चलाउने १५ र तीव्रगतिमा गाडी चलाउने तीन सय २१ जना चालक कारबाहीमा परेका छन् ।

    प्रवक्ता भट्टका अनुसार अन्य विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ६६ जनासहित पछिल्लो २४ घण्टामा एक हजार पाँच सय २७ जना चालकलाई कारबाही गरिएको छ । प्रहरीले यसरी नियम मिच्दा दुर्घटनाको जोखिम हुने भएकाले नियमसम्मतरूपमा सवारीसाधन सञ्चालन गर्न पनि अनुरोध गरेको छ ।