१. संघीय सञ्चित कोष भन्नाले के वुझिन्छ ?संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम वारे लेख्नुहोस्। ५+५
संघीय सञ्चित कोष
नेपालको संविधानको धारा ११६मा संघीय सञ्चित कोष सम्वन्धीे व्यवस्था गरिएको छ। जस अनुसार गुठी रकम बाहेक नेपाल सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, राजस्वको धितोमा लिइएका सबै कर्जा, ऐनको अधिकार अन्तर्गत दिइएको जुनसुकै ऋण असुल हुँदा प्राप्त भएको सबै धन र नेपाल सरकारलाई प्राप्त हुने अन्य जुनसुकै रकम संघीय ऐनद्वारा अर्को कुनै व्यवस्था नगरिएमा एक सरकारी कोषमा आम्दानी बाँधिनेछ जसलाई संघीय सञ्चित कोष भनिनेछ।
संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम
नेपालको संविधानको धारा ११८मा संघीय सञ्चित कोषमाथि व्ययभारसम्वन्धी व्यवस्था गरिएको छ। जस अनुसार देहायका विषयसँग सम्बन्धित खर्च संघीय सञ्चित कोषमाथि व्ययभार हुनेछ र त्यस्तो व्ययका लागि संघीय संसदको स्वीकृति आवश्यक पर्ने छैनः–
(क) राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधाको रकम,
(ख) नेपालको प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश र न्यायपरिषदका सदस्यलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,
(ग) प्रतिनिधि सभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षलाई दिइने पारिश्रमिक तथा सुविधाकोे रकम,
(घ) संवैधानिक निकायका प्रमुख र पदाधिकारीलाई दिइने पारिश्रमिक तथा सुविधाको रकम,
(ङ) प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधाको रकम,
(च) राष्ट्रपति वा उपराष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, न्यायपरिषद, संवैधानिक निकाय र प्रदेश प्रमुखको कार्यालयको प्रशासनिक व्यय,
(छ) नेपाल सरकारको दायित्वको ऋण सम्बन्धी व्ययभार,
(ज) नेपाल सरकारको विरुद्ध अदालतबाट भएको फैसला वा आदेश अनुसार तिर्नु पर्ने रकम, र
(झ) संघीय कानून बमोजिम संघीय सञ्चित कोषमाथि व्ययभार हुने रकम।
२. अधिकार प्रत्यायोजन भन्नाले के वुझ्नुहुन्छ ? यसको महत्व उल्लेख गर्नुहोस्। (२.५+२.५=५)
कुनै पनि संगठन तथा निकायको माथिल्लो तहमा नीहित अधिकार तल्लो तहका निकाय एवं पदाधिकारीमा सुम्पने कार्य
अधिकार प्रत्यायोजन
– कुनै पनि संगठन तथा निकायको माथिल्लो तहमा नीहित अधिकार तल्लो तहका निकाय एवं पदाधिकारीमा सुम्पने कार्यलाई नै अधिकार प्रत्यायोजन भनिन्छ।
– प्रचलित कानून बमोजिम कुनै व्यक्ति वा निकायलाई प्राप्त अधिकार अन्य कुनै व्यक्ति वा निकायलाई प्रदान गर्ने कार्य नै अधिकार प्रत्यायोजन हो।
– निर्णय गर्ने अधिकार र कार्यान्वयन गर्ने दायित्व प्रत्यायोजित भएर गएपनि प्रत्यायोजित कार्यको उत्तरदायित्व भने प्रत्यायोजनकर्तामै रहन्छ।
– अधिकार प्रत्यायोजनले तल्लो तहमा अधिकार प्रयोग गर्ने अख्तियारी दिन्छ तर उत्तरदायित्व र स्वामित्व भने सुम्पिन मिल्दैन।
– अधिकार प्रत्यायोजन गर्ने अधिकारीले जुनसुकै बेला पनि आफूले प्रत्यायोजन गरेरको अधिकार पूरा वा आंशिक रुपमा फिर्ता लिन सक्दछ।
अधिकार प्रत्यायोजनको महत्व
– तल्लो तहका कर्मचारीलाई आफ्नो खुबी र क्षमता प्रदर्शन गर्न पाउने अवसर प्राप्त हुने,
– माथिल्लो तहका कर्मचारीको कार्यबोझ कम भई कुशल नेतृत्व प्राप्त गर्ने अवसर प्राप्त हुने,
– संगठनको कार्यदक्षता अभिवृद्धि हुने,
– मातहतका कर्मचारीलाई जिम्मेवारी बोध गर्न सहयोग पुग्ने,
– कार्य सम्पादनमा शीघ्रता आई संगठनात्मक प्रभावकारीता अभिबृद्धि हुने ,
– कर्मचारीमा उत्प्रेरणा र मनोबल अभिबृद्धि गराउन सहयोग पुग्ने,
– संगठनमा सवल र सक्षम नेतृत्व निर्माण गर्न सहयोग पुग्ने।
३. फाइलिङ भन्नाले के वुझिन्छ ?फाइलिङका उद्देश्य र असल फाइलिङमा हुनुपर्ने गुणहरु उल्लेख गर्नुहोस्। (२.५+२.५=५)
फाइलिङ
कार्यालयमा प्राप्त भएका विभिन्न पत्रहरु, विभिन्न कार्यालयहरुमा पठाइएका पत्रहरुको प्रतिहरु र कार्यालयमा काम कारबाहीको सिलसिलामा संकलन भएका वा श्रृजना भएका अन्य कुनै कागजपत्रहरुलाई भविष्यको लागि क्रमबद्ध रुपमा खोजिएको बखत तुरुन्त प्राप्त गर्न सकिने गरी सुरक्षित रुपमा राख्ने कार्यलाई नै फाइलिङ भनिन्छ।
कार्यालयभित्र रहेका कुनै पनि कागजपत्रहरुलाई भविष्यको लागि क्रमबद्ध रुपमा खोजिएको बखत तुरुन्त प्राप्त गर्न सकिने गरी सुरक्षित रुपमा राख्ने कार्यलाई फाइलिङ भनिन्छ।
फाइलिङका उद्देश्य
– कागजपत्रहरु व्यवस्थित तरिकाले संकलन गर्ने,
– कागजपत्रलाई महŒवको आधारमा वर्गीकरण गरी महŒवपूर्ण कागजपत्रहरुको उचित संरक्षणको व्यवस्था गर्ने,
– संरक्षण गरिएका कागजपत्रहरु आवश्यकता अनुसार प्रमाणको रुपमा प्रस्तुत गर्ने,
– जानकारी, सूचना तथा तथ्यांक उपलब्ध गराउने,
– शिघ्र कार्यसम्पादन गर्नु,
– कार्यालयको समय, स्रोत र साधनको वचत गर्ने,
– कार्यालयको नीति तथा योजना बनाउन र जटिल निर्णय गर्ने काममा सहयोग गर्ने,
– कागजपत्रलाई धुलोमैलोबाट सुरक्षा गर्न र विग्रनबाट बचाउने।
फाइलिङमा हुनपर्ने गुणहरु
– सरलता – शिघ्रता – लचकदार
– कम खर्चिलो – न्यूनतम ठाँउ ओगट्ने – सुरक्षा
– उपयोगिता – गोप्यता – स्थिरता
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100