ओइ!
तिमीलाई दशैँ आयो?
अँहँ! आएन
मलाई दशैँ आउँदैन
किनकि ,म गरिब हुँ।
तिमीले लुगा किन्यौँ?
अँहँ ! छैन
मसँग लुगा किन्ने पैसै छैन
किनकि, म गरिब हुँ।
तिमीले दाल किन्यौँ?
तेल चामल नि!
छैन,केही किनेकै छैन
किनकि, म गरिब हुँ।
मरमसला, नुन किन्यौँ त!
छैन, कसरी किन्ने?
मसँग पैसै छैन, केले किन्ने?
किनकि, म गरिब हुँ।
तिमीले जमरा राख्यौँ?
छैन ! मसँग जमरा राख्ने मकै छैन
धान छैन, गहुँ छैन, जौँ छैन
राखिनँ मैले जमरा
कसरी राख्नु?
मसँग अन्नै छैन
किनकि, म गरिब हुँ।
मेरो घरमा टपरा छैन
बोहोता र दुना छैन
कसरी जमरा राखुँ!
मसँग एकमुठ्ठी माटो पनि छैन
हो, मलाई दशैँ आउँदैन
किनकि, म गरिब हुँ।
सारा अभाव छ
टीका मुछ्ने अक्षता छैन
रङ छैन, दही छैन
त्यसैले,
मलाई मेरो दशैँ आउँदैन
किनकि, म गरिब हुँ।
न मेरा आफन्त छन्
न मेरा छरछिमेकी नै छन्
पैसा नहुनेसँग कोही हुन्नन्
न मेरा साथी छन्
न मेरा सङ्गी नै छन्।
त्यसैले,मेरो दशैँ आउदैन
किनकि, म गरिब हुँ।
मेरा लागि दशैँ हराएको छ
उहिल्यै हराएको मेरो दशैँ
मलाई सम्झेर कहिल्यै आउँदैन
आएपनि दशैँ, दसा बनेर आउँछ
खोइ! पैसै पाइन्न
पाएपनि ऋण लाग्छ
किनकि, म गरिब हुँ।