दशैँको खानपानले हुनसक्छ फुड पोइजन, के कुरामा ध्यान दिने ? - Chaitanya News
  • 2026-05-05
  • 02:47:35
  • सोमबार,बैशाख २१, २०८३
  • दशैँको खानपानले हुनसक्छ फुड पोइजन, के कुरामा ध्यान दिने ?

    दशैँको खानपानले हुनसक्छ फुड पोइजन, के कुरामा ध्यान दिने ?

    दशँै–तिहार नेपालीहरुको महान् चाड हो । सबैले यो पर्व आ–आफ्नो गच्छेनुसार हर्षोल्लासका साथ मनाउने गर्दछन् । दशैं–तिहारमा मिठोमसिनो स्वादिलो परिकार खाइन्छ । अधिकांशलाई खानपिन गर्न, रमाईलो गर्नुका साथै साथीभाई र आफ्न्तलाई भेटन भ्याइ–नभ्याइ हुन्छ । केटा–केटीहरु नयाँ लुगा लगाउने, पिङखेल्ने, चंगा उडाउँने गर्छन् ।

    यस चाडपर्वमा प्रायले माछा, मासु तथा मासुका विभिन्न परिकारलाई बढी प्राथमिकता दिन्छन् । दशैँमा मासु खाएन भने दशैँ आएको जस्तो लाग्दैन । दशैँको बेलामा बोका, खसी, राँगो, भैसी, कुखुरा, हाँस, परेवा, खरायो, भेडा, च्याड्ग्रा आदिको मासु खाने चलन छ ।

    कतिपयले दशैंका लागि ३÷४ महिना अगाडिदेखि नै खसी, बोका, सुगुँर, बंगुर आदि पालेर राखेका हुन्छन् । मिठो र स्वादिलो खानेकुराले दशैँलाई रमाईलो त बनाउँछ तर खानपिनको सन्तुलन र सरसफाइमा विशेष ध्यान दिन सकिएन भने बिरामी हुने सम्भावना हुन्छ । दीर्घरोगी (ब्लडप्रेसर, डायबिटिज्, दम, युरिक एसिड) भएका व्यक्तिहरुलाई सिकिस्त बनाउने समय चाडपर्व बन्न सक्छ ।

    चाडपर्वका लागि भनेर ल्याईएको माछा, मासु, मिठाई, दुग्धजन्य पदार्थलगायतका परिकार बनाएर लामो समयसम्म राखिन्छ । आफन्तकोमा जाँदा वा आफन्त आउँदा कोशेलीको रुपमा मिठाई, फलफूलहरु हुन्छन् । दशैं मान्न आएका पाहुनाहरुलाई केहि दिन अघिबाट सञ्चित गरेर राखिएको माछा, मासु एवं अन्य परिकारहरु ख्वाएर स्वागत गर्ने गरिन्छ ।

    उचित तापक्रममा खानेकुरालाई व्यवस्थित ढंगले राख्न नसक्दा बेक्टेरियाहरु उत्पन्न हुन्छन् । बेक्टेरिया भएको यस्ता खानाकुराले फुड पोइजन हुने गर्दछ ।

    यसैप्रकार स्वच्छ खानेपानी भान्छा कोठाको सरसफाइको कमीका कारण पनि खानेकुरा संक्रमित भई मानिसहरु विभिन्न रोगको शिकार हुने गरेका छन् । विशेष गरी बुढा–पाका, केटाकेटीहरु तथा दीर्घरोगीहरुमा फुड पोइजन हुने सम्भावना बढी हुन्छ । उनीहरुमा रोगसँग लड्ने क्षमता एउटा स्वस्थ व्यक्तिको दाँजोमा धैरै कमजोर हुन्छन् ।

    फुडपोईजनबाट कतिपय उपचार नपाएर मृत्यु हुने गर्दछन् भने कसै–कसैको उपचारको क्रममा पनि मृत्यु हुन्छ ।

     

    फुड पोइजन विभिन्न कारणबाट हुने गर्छ । राम्रोसँग नपाकेको काँचो खाना, बासी खानामा पाइने ई–कोलाइ, स्टेफाइलोकोकसलगायतका बेक्टेरियाहरु हुन्छन् । जसका कारण खाना दूषित हुन्छ । सरसफाइ नगरेको भान्छा कोठा र भाडाकुँडामा बनाइएको खाना पनि फुड पोईजनिङ्को अर्को कारण बन्दछ ।

     

    यस्ता खाना खानाले मानिसहरुमा विभिन्न लक्षणाहरु देखा पर्दछ । खानेकुरा र पानीको माध्यमबाट शरीरमा बेक्टेरिया प्रवेश गर्छ । छिटो प्रजनन् हुने भएकाले शरीरमा प्रवेश गरेको ३० मिनेट देखि ४८ घन्टामा शरीरले प्रतिक्रिया देखाउन सुरु गर्दछ । यो नै रोगको पहिलो लक्षण हो । जिवाणु अनुसारको मानिसले लक्षण देखाउन थाल्दछ । जस्तो की भिव्रोकोलेरा जिवाणूका कारण पातलो दिशा र वान्ता हुने गर्दछ । सिगेलाका कारण दिशाबाट रगत जान्छ । अमिबाका कारण चिप्लो दिशा (आउँ) जाने जस्ता समस्याहरु देखा पर्दछ ।

    वाक–वाकी लाग्ने, वान्ता हुने, झाडापखाला लाग्ने, उधो–उभो (मुखपेट) एकैपटक चल्ने, रिगँटा लाग्ने, दिशामा रगत आउँ देखा पर्ने, ज्वरो आईरहने, टाउको दुख्ने, पेटमा ऐठन हुने, मुटुको धडकन अस्भाविक रुपले बढने, शरीर झमझमाउने, ओठ–मुख सुक्ने जस्ता लक्षणहरु विरामीमा देखा पर्छ ।

    खानाको सुरक्षा र सरसफाइलाई ध्यान दिन सकेमा फुड पोईजनबाट पूर्णरुपमा बच्न र बचाउन सकिन्छ । काँचो माछा, मासु, राम्ररी नपाकेको खाने कुरा पकाएर फ्रिजबाहिर लामो समयसम्म राख्ने गरिएका खानेकुराको सेवनले फुड फोईजन हुने गर्दछ । सबै ठाउँमा फ्रिज, डि–फ्रिज हुदैन, उचित तापक्रम मिलाएर राख्ने सुविधा नहुने भएकाले त्यस्ता खाने कुराले – झाडा–बान्ता, गेष्ट्राईटिसका साथै पाचनप्रणालीमा विभिन्न समस्याहरु देखापर्ने गर्दछन् । त्यसकारण चाडबाडका लागि भनेर ल्याईएका खाने कुराहरुलाई पकाएर सकेसम्म लामो समय बाहिर नराखे यसबाट बच्न सकिन्छ । यदि राख्नु पर्ने भएमा फ्रिज वा डी–फ्रिजमा राख्नु पर्छ । सरसफाईमा ध्यान दिने हो भने दूषित खानाबाट हुने फुड पोईजनबाट बच्न सकिन्छ ।

    उपचार

    झाडा र बान्ता हुनु भनेको शरीरले विषाक्त खाद्य पदार्थलाई बाहिर फ्यालेको हो । शरीरले आफ्नो डिफेन्सका लागि गर्ने एक स्वभाविक प्रक्रिया हो । जुन शरीरका लागि हितकर नै हुन्छ । सबै खाद्य पदार्थमा फुड पोईजनको असर एकनासको हुँदैन ।

    त्यसै गरी फुड पोईजनको असर पनि सबै बिरामीमा एकनास देखिदैन । खाद्य–विषाक्त रोगबाट पीडित व्यक्ति पिच्छे लक्षण पनि फरक–फरक हुन्छ । सबै मानिसको पाचन शक्ति एक नासको हुँदैन । राम्रो पाचन शक्ति भएकाले पचाउन सक्छ भने नहुने बिरामी हुन्छन् । त्यही भएर फूड पोईजनका सबै बिरामी सिकिस्त हुँदैनन् । सामान्यतया जीवन जलजस्ता झोलीय पदार्थको सेवन गरी घरमै आराम गरी बसेमा तीन दिन मै निको हुन्छ ।

     

    गम्भीर प्रकृतिको बिरामी छन् भने तुरन्त अस्पताल भर्ना गर्नुपर्ने हुन्छ ।

    फुड पोईजनका लागि रोगीको शारिरिक एवं मानसिक लक्षणहरुको साथै रोगीले सेवन गरेको खाद्य पदार्थको आधारमा प्रयोग हुने केहि होमियोप्याथिक औषधिहरु निम्नप्रकार छन्ः

    (१) आर्सेनिक एल्ब ३ – सडे–गलेको माछा, मासु वा दूषित पानी खाएर फुड पोईजन भएको हो भने यसको प्रयोग लाभदायक हुन्छ ।

    (२) लाइकोपोडियम२०० – समुन्द्री माछा सेलफिस खास गरि ओएस्टरको मासु खाएर फुड पोईजनको लक्षण देखिएको हो भने उक्त खाद्य पदार्थको नकारात्मक प्रभावलाई यो औषधिले हटाउँछ ।

    (३) पल्साटीला३० – खासगरी आईसक्रिम, केक, तथा चिल्लोका साथै सडेको माछा, मासू खानाले पेट गडबड भएको हो भने यस औषधिको प्रयोग हितकार हुन्छ । यसका अलावा पनि लक्षण अनुसार नक्सवोमिका, एलिएमसिपा, चाईना, कार्बो भेज, नेट्रम फोस, मेगफास, नेटर्मसल्फ, कालिसल्फ आदि औषधिहरु फुडपोईजनमा दिन सकिन्छ ।

    उपरोक्त औषधिहरु आफ्नो नजिकको योग्य तथा अनुभवी चिकित्सकसँग सल्लाह गरेर प्रयोग गर्दा उपयुक्त हुन्छ ।

    डा. ललित कुमार मिश्र