हमास समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने तालिका छ ।
परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार नेपाल फर्कन चाहनेहरूलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको छ ।
उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने छ जना घाइते भएका थिए । एक जनाको अवस्था अझै अज्ञात छ । इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहनेहरूको विवरण सङ्कलन गरिरहेको छ ।