डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ - Chaitanya News
  • 2026-05-25
  • 01:57:51
  • आइतबार,जेठ १०, २०८३
  • डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’

    डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’

    काठमाडौं- डा. राजु अधिकारीको नयाँ पुस्तक ‘विवाहअगाडि विवाहपछाडि’ सार्वजनिक भएको छ। योग विज्ञान तथा जीवनशैली प्रशिक्षक अधिकारीको यो १४ औं कृति हो।

    लेखक भन्छन्, ‘जिन्दगी सुन्दर, घर स्वर्ग र भविष्य सानदार बनाउने स्वैच्छिक सोपान हो— विवाह। भनिन्छ, विवाह सप्रिए सबथोक सप्रिन्छ, विवाह बिग्रिए सबथोक बिग्रन्छ। विवाह बिग्रनु भनेको पुरुष प्रलय र नारी महामारी बन्नु जस्तै हो। विवाह सफल हुनुको अर्थ हो, पुरुष प्रशान्त बन्नु अनि नारी मनकारी। र सहयात्रामा घरगृहस्थी अघि बढ्नु।’

    विवाहसम्बन्धी यस्तै ज्ञान, विज्ञान र मनोविज्ञान समेटेर लेखिएको पुस्तक हो, ‘विवाहअगाडि विवाहपछाडि’। ‘यो पुस्तक पढ्न जति रोमाञ्चक छ, वैवाहिक आकाङ्क्षीहरूलाई उपहार दिन त्यत्तिकै मूल्यवान् छ भन्ने मेरो विश्वास छ,’ डा. अधिकारीले भने। यस पुस्तकले पाठकवर्गमा वैवाहिक मर्मबोधलाई कुनै न कुनै ढङ्गले पृष्ठपोषण गर्ने उनको विश्वास छ।

    विशेषगरी डा. राजु अधिकारीले आध्यात्मिक–व्यावहारिक जीवन यापनका लागि सरल उपाय सुझाएर पुस्तक लेखिरहेका छन्। यो पुस्तकमा भने उनले विवाहका विविध पाटालाई केलाएर उत्तम छनोटका लागि मानिसलाई मार्गनिर्देश गरेको प्रकाशक फाइनप्रिन्टका नीरज भारीले बताए।

    को हुन् डा. राजु अधिकारी ?

    जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग प्रशिक्षण, पुस्तक लेखन एवम् वातावरण संरक्षणका क्षेत्रमा परिचित नाम हो, डा. राजु अधिकारी। भारतको हरिद्वारस्थित देव संस्कृति विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतना विषयमा स्नातकोत्तर र विद्यावारिधि गरेका अधिकारी नेपाल, भारत र अमेरिकामा ‘मोटिभेसनल ट्रेनर’ तथा ‘लाइफ कोच’को भूमिकामा रमाइरहेका छन्। ‘खाने कसरी पिउने कसरी’, ‘योग पनि गरौं भोग पनि गरौं’, ‘यस्तो होस् जीवनशैली’, ‘आखिर रोज्ने के ?’, ‘तपाईंका लागि योग’, ‘जिन्दगी रिल्याक्स प्लिज !’, ‘संस्कारी बन्ने काइदा’, ‘परिवार सुख’, ‘हजुरलाई विशेष उपहार’, ‘बालबालिका र योगाभ्यास’, ‘सुयोग्य सन्तति’, ‘नैतिक सुखवाद र जीवन मूल्यहरू’ पुस्तक प्रकाशन गरिसकेका अधिकारी वाग्मती सफाइ महाअभियानका अवधारणाकारसमेत हुन्। राष्ट्रिय युवा प्रतिभा पुरस्कार र भागीरथी पुरस्कार (भारत) बाट सम्मानित अधिकारीले भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामबाट योेग विज्ञान विषयमा स्वर्णपदकसमेत पाएका छन्। ध्यान, यात्रा, स्वयम्सेवा, लेखन र आन्तरिक खोजमा रमाउनु अधिकारीका दैनिकी हुन्।