कतिपय मानिसको दिउँसो सुत्ने बानी हुन्छ। खासगरी बिहानको खाना खाइसकेपछि केहि मानिस सुत्न रुचाउँछन्।
यस्तो बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ। दिउँसो सुत्ने मानिसहरूलाई धेरैले अल्छीको संज्ञा दिन्छन्।
त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिउँसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ।
सामान्य अनुमान गर्न सकिन्छ, दिउँसो सुत्नु उचित होइन। एक त यो हाम्रो शरीरको जैविक घडी विपरित काम भयो, अर्को चाहिँ आफ्नो कामधन्दामा असर गर्ने भयो। किनभने दिउँसोको समयमा नै हामी अधिकांशले आफ्नो काम व्यवहार पुरा गर्छौं। त्यसैले दिउँसो सुत्ने बानीले गर्दा आफ्नो नियमित काममा अवरोध पुग्छ। कतिपय महत्वपूर्ण काममा पनि यसले असर गर्छ।
महत्त्वपूर्ण कुरा त के भने हाम्रो शरीरको सुत्ने र उठ्ने निश्चित तालिका हुन्छ, जसलाई जैविक घडी भनिन्छ। प्रकृतिसँगै शरीरको तालमेल मिलाउँदै सुत्ने, उठ्ने, खाने, बस्ने प्रक्रियालाई यसले व्यवस्थित गर्छ। यस हिसाबले जब सूर्योअस्त हुन्छ वा रात पर्छ तब हाम्रो शरीरले विश्राम खोज्छ। शरीरको प्राकृतिक आवश्यक्ता अनुसार राती मात्र सुत्नुपर्छ। अतः यस बखत हामीलाई ७ देखि ८ घण्टासम्मको गहिरो निद्रा जरुरी हुन्छ।
दिउँसो सुत्ने बानीले हाम्रो शरीरको आफ्नो प्रक्रियालाई क्रमभंग गर्छ। सुत्ने, उठ्ने, खाने, बस्ने तालिका गडबड बनाइदिन सक्छ। जब हाम्रो दिनचर्या असन्तुलित हुनपुग्छ, शरीरिक समस्या सुरु हुन्छ।
हामीले खाएको खाना पचाउनका लागि पनि शारीरिक श्रमको जरुरत हुन्छ, जुन हामी दिउँसोको समयमा वा उठेको बखत पुरा गर्छौ। दिँउसो खाना खाएर सुतेपछि हाम्रो शरीरले समूचित श्रम गर्न पाउँदैन। यसले पाचन यन्त्रदेखि अन्य अंगलाई शिथिल र निस्क्रिय बनाउँछ।
यद्यपि कतिपयको बाध्यता हुन्छ रातको समयमा काम गर्नुपर्ने। उनीहरूले दिउँसोको समय सुत्नैपर्ने हुन्छ। त्यसैगरी अन्य कामधन्दा पुरा गरिसकेपछिको फुर्सदिलो समय कटाउन पनि कतिपयको लागि राम्रो विकल्प बन्छ, सुत्नु। दिउँसोको सुताईबाट केही आंशिक लाभ भने प्राप्त गर्न सकिने बताइन्छ।
कतिपय मुलुकमा कार्यथलोमा नै दिउँसोको समयमा सुत्न दिइने व्यवस्था छ। यद्यपि यो सुताई क्षणिक एवं निश्चित समयको लागि हुन्छ। यसरी सुत्दा शरीरलाई पूर्ण विश्राम मिल्ने र त्यसले अनेक फाइँदा गर्ने विभिन्न शोधमा उल्लेख छ।
खासगरी कामको थकान मेट्न यसरी सुत्नु राम्रो मानिन्छ। सुतेको बखत शरीरलाई राम्रो विश्राम पाउने भएकाले तनाव र थकान कम हुन्छ। मन शान्त हुन्छ र शरीरले आनन्दित महसुष गर्छ। त्यसैले निश्चित समयका लागि दिउँसो सुत्नुलाई हानिकारक मानिदैन।
जो मानिस दिउँसोको समयमा १५–३० मिनेट निदाउँछन् उनीहरूको अल्छिपना टाढा हुन्छ। त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ।
यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन। यसले कुनै फाइँदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस्।
आम रुपमा हरेक मानिसलाई एक दिनमा ७–८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ। तर, यसको लागि कुनै सामान्य नियम हुँदैन।
साना बच्चाहरूलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ। ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ।
यसैगरि १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सक बताउँछन्। वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ। ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ।
त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लागि सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ। यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्या आउँछन्। थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ।