चैतन्य खबर डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। गत वर्ष असोजमा तपाईंमाझ आउँदा हामीले ऐश्वर्य प्रकाशन प्रालीद्वारा सञ्चालित चैतन्य खबरमा जनताको दैलोबाट आवाज बिहीनको आवाजलाई टिपेर राज्यको आँगनसम्म पर्याउने प्रयत्न रहने छ भनेका थियौं। एक वर्षको अवधि पूरा गर्दा हाम्रो उक्त इमान्दार प्रयास जारी नै छ।
विकास, ब्यवस्थापन र प्रशासनको चैतन्यका रूपमा सुरु गरेको सञ्चारमाध्यम हाम्रो सिकाइको एउटा पाइला थियो। जुन अहिले पनि जारी नै छ।
यस अवधिमा पाठक र लेखकबाट प्राप्त अगाध स्नेह हामीलाई अगाडि बढ्न प्रेरित गर्ने कोसेढुङ्गा बन्न पुगेको छ। हामीले तपाईंबाट आगामी दिनमा पनि थप सुझाव र रचनात्मक सल्लाहको अपेक्षा गरेका छौं। यो माया र सद्भावलाई बचाएर चुनौतीबीच पाठक, लेखक र विज्ञापनद्वाताको अपेक्षा अनुसार सञ्चारमाध्यमलाई अगाडि बढाउने हाम्रो इमान्दार कोषिस सधैँ जारी नै रहने छ।
निष्पक्ष र व्यावसायिक पत्रकारिताभन्दा हाम्रो अर्को लक्ष्य र प्रतिवद्धता छैन। दलगत या अन्य कुनै प्रकारका कर्पोरेट स्वार्थलाई विगतमा जसरी नै हामी आगामी दिनमा पनि प्रश्रय दिने छैनौं।
यस अवधिमा हामीले बाटो बिराएकाहरूप्रति निरन्तर खबरदारी गर्यौँ, चाहे सत्ता सञ्चालक हुन् वा कर्मचारी, सार्वजनिक जिम्मेवारीमा रहेकाहरू हुन् वा समाजका सरोकारवाला व्यक्ति, संस्था र निकायहरू हुन्।
मुलुक समृद्धिको यात्रामा छ। हामी सुशासन, दिगो विकास र समृद्धिमा टेवा पुग्ने गतिविधिहरूलाई नै अनलाइनमा स्थान दिन चाहन्छौं। हामी नकरात्मकता होइन, सकरात्मकताको प्रकाश छर्न चाहन्छौं। बिग्रिएका र भत्किएका कुरामात्र होइन, सम्भावना र अवसरका विषयमा पनि बहस गर्न चाहन्छौं।
विधिको शासन, सामाजिक न्याय, सुशासन र मानवअधिकार लोकतन्त्रका प्राण हुन्। यी प्राण बचाउने दायित्व नागरिक, राजनीतिक दल, कर्मचारीतन्त्रसँग मात्र होइन, हामीमा पनि उत्तिकै छ। यसलाई हामीले दह्रोसँग र जिम्मेवारीपूर्वक आत्मसात् गरेका छौं, गरिरहनेछौं।
हाम्रो ध्येयप्रति हामी सचेत छौं। हामी गहन सैद्धान्तिक विषयमा पनि बहस गरिरहेका छौं। यस्ता बहसले वैचारिक मन्थन गरून्, सबै पक्षका विचार समावेश हुन् तथा समृद्ध र सुखी नेपाल निर्माणमा यो अभियान सहज बनोस् भन्ने हाम्रो ध्येय छ।
चैतन्य खबर डटकमले पहिलो वर्षको उत्साहजनक यात्रा पार गरेको हाम्रो बुझाइ छ। शैशवकालको यस घडीमा हामिलाई माया गर्ने, मार्गनिर्देशन प्रदान गर्ने, अविभावकत्व प्रदान गर्ने, लेख, रचना र सृजनामार्फत वौद्धिक खुराक प्रदान गर्ने, सूचना, ज्ञान, प्रेरणाका श्रोत प्रादन गर्ने, प्राविधिक, व्यवस्थापकीय एवम् प्रशासनिक भूमिकामा अहोरात्र खटनु हुने सम्पूर्ण आदरणीय व्यक्तित्वहरुमा सहृदय हर्दिक आभार व्यक्त गर्छौ।
सूचनाको माध्यमबाट सकारात्मक, सृजनशिल, ज्ञानवर्द्धक, खोजमुलक, प्रेरणादायी एवम् जीवनपयोगी खुराक प्रसारित गर्ने जिम्मेवारीमा हामी सदा कर्तव्यनिष्ठ रहनेछौं।
अन्त्यमा, एक वर्षको यो यात्रामा साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौं।