धर्मका कारण आमूल परिवर्तन
एउटा संस्कृत भनाइ छ- धर्म आध्यात्मिक परिवर्तन हो। धर्मले हामीलाई अन्तस्करणदेखि नै रूपान्तरित गर्दछ। वास्तवमा धर्म भनेकै आमूल परिवर्तन हो। अध्यात्मको परिवर्तन नै आमूल परिवर्तन हो। बाहिर हुने परिवर्तनको कुनै अर्थ छैन। बाहिर जुन किसिमको परिवर्तन हुन्छ, त्यो परिवर्तन क्षणिक हो। व्यक्ति जब भित्रैदेखि बदलिन्छ, अनि त्यो परिवर्तनको अनभूति व्यक्तिनजिक रहेका अरु व्यक्तिहरूले पनि गर्न पाउँछन्।
बाहिर शरीरमा जुन किसिमको परिवर्तन हुन्छ, आवरणमा जुन किसिमको परिवर्तन हुन्छ, त्यो परिवर्तनको प्रभाव लामो हुँदैन। जब व्यक्ति भित्रैदेखि बदलिन्छ, रूपान्तरित हुन्छ, त्यसपछि बल्ल सबैले रूपान्तरणको अनुभूति गर्दछन्। धर्मले हामीलाई भित्रैदेखि बदलिदिन्छ। यसका माध्यमले मात्र हामीले जीवनमा आमूल परिवर्तनको अनुभूति गर्ने सुअवसर प्राप्त गर्दछौँ।
हामीले धर्मलाई पाखण्ड भन्दछौँ, अन्धविश्वास भन्दछौँ। धर्मप्रति हाम्रो त्यतिधेरै निष्ठा छैन तर धर्म नै परिवर्तनको सबैभन्दा ठूलो संवाहक हो। कुनै पनि कथित क्रान्तिकारी आन्दोलनभन्दा बढ्ता आध्यात्मिक आन्दोलनले व्यक्तिलाई परिवर्तित गर्दछ। मूलैसहित बदलिदिन्छ। यसैले, धर्मलाई आध्यात्मिक परिवर्तन मानिएको हो।
टिल्ले नाम गरेका एक जना विद्वान्ले भनेका छन्, ‘धर्महीन मान्छे बाँचेर पनि मरेतुल्य हुन्छ।’ धर्म भनेको एउटा नियम र सामाजिक प्रचलनको पनि नाम हो। सबै मानिसलाई निश्चित सीमा र मर्यादाभित्र मर्यादित र अनुशासित गर्ने जुन साझा पद्धति छ, त्यही पद्धतिको नाम नै धर्म हो। हरेक देशका धर्मले व्यक्तिभित्रको व्यक्तित्व विकासका लागि व्यक्तिलाई प्रेरित गर्ने गरेका छन्। हामी निश्चित मर्यादाभित्र मर्यादित भएर नै जीवनलाई पनि सुखद बनाउन सक्दछौँ।
संसारका हरेक धर्महरूको लक्ष्य नै यही रहेको छ : हरेक व्यक्तिलाई मर्यादित बनाउनु, नैतिक बनाउनु, आचरणशील बनाउनु, अनावश्यक स्वतन्त्रता र स्वच्छन्दताबाट मुक्त गर्नु, मर्यादित स्वतन्त्रताका पक्षमा उनीहरूलाई सहयोग पुर्याउनु, धर्मका यस्तै उद्देश्य रहेको देखिन्छ।
धर्महीन : बाँचे पनि मरेतुल्य
धर्मका यस्ता पवित्र उद्देश्यलाई जसले स्वीकार गर्दैन, मान्दैन, त्यो नियमहीन व्यक्ति हो। पशुहरूमा माथि एक किसिमको नियम हुन्छ। पशुहरूले पनि आफ्नो पशुधर्म निर्वाह गरिरहेका हुन्छन्। पक्षीहरूले पक्षीधर्म र बोटविरुवाहरूले वनस्पतीय धर्म निर्वाह गरिरहेका हुन्छन्। मनुष्य भएर पनि हामीले निर्वाह गर्नुपर्ने जुन मूल्य र मान्यताहरू छन्, तिनलाई आत्मसात गर्न सकेनौँ र जीवनव्यवहारमा लागु गर्न सकेनौँ भने हाम्रो जीवनको कुनै अर्थ हुँदैन। कौटिल्यले यही सत्यप्रति सङ्केत गर्दै भनेका हुन्- धर्महीन मानिस बाँचेर पनि मरेतुल्य हुन्छ।
लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, ‘धर्मको अभावमा मानिस अन्धो हुन्छ।’ अर्थात् उसले कता जाने, के गर्ने, कसो गर्ने केही पनि थाहा पाउँदैन। संसारमा धर्महरू नहुँदा हुन् त सायद मनुष्य सभ्यता पनि रहने थिएन। मानिसले धर्मका सन्दर्भमा विभिन्न प्रश्नहरू निर्माण गर्दछ,विभिन्न सन्देहहरू प्रकट गर्दछ तर उसले धर्मलाई त्यसअघि नै आत्मसात् गरिसकेको हुन्छ। धर्मले नै उसलाई एक किसिमको तागत र शक्ति प्रदान गरेको हुन्छ। हुँदाहुँदै धर्मले प्रदान गरेको त्यही शक्तिको सहारामा उनीहरू धर्ममाथि नै सन्देह प्रकट गर्न सुरु गर्दछन्। यसैले, धर्म सबैको उज्यालो प्रकाश हो।
धर्म मनुष्य सभ्यताको सुन्दरतम व्यवस्था हो। धर्मको यही व्यवस्थामाथि टेकेर नै मनुष्यले जीवनको यात्रा गर्न सक्दछ। धर्म नमान्ने मानिस अथवा धर्मप्रति अनास्था प्रकट गर्ने व्यक्ति कता जाने, के गर्ने, अस्तव्यस्त बन्दछ, स्वच्छन्द र बेलगाम बन्दछ। यस्तो किसिमको स्वच्छन्द र अराजक मान्छेबाट समाजको कल्याण कहिल्यै हुन सक्दैन किनकि अमर्यादित र स्वच्छन्द मानिस स्वयम्मा पनि शान्त, स्थिर र मर्यादित रहन सक्दैन। उसका कारण अरु पनि अस्थिर, असन्तुष्ट र अमर्यादित बनेर जाने खतरा हुन्छ। यसकारण धर्म मान्ने मान्छे उज्यालो यात्रामा हिँडिरहेको हुन्छ भने नमान्ने मानिस अन्धो हुन्छ भनेर देवकोटाले भन्न खाजेको देखिन्छ। वैशेषिक दर्शनले भनेको छ,‘धर्म कुनै कर्मकाण्ड होइन, धर्म तत्त्वज्ञान हो।’ कर्मकाण्ड त धर्मको एउटा अङ्ग हो, एउटा सतही स्वरूप मात्र हो। यो आफैँमा सम्पूर्ण धर्म होइन, सामान्य प्रक्रिया मात्र हो।
अन्तस्करणको बोध र जागरणमा पुर्याउने काम धर्मले गर्दछ। धर्मले नै हामीलाई बुद्ध बनाउँछ, शुद्ध बनाउँछ। जीवनका अनेक पक्षसँग धर्म प्रत्यक्ष गाँसिएको हुन्छ तापनि जीवन के हो भन्ने बोध नै धर्मको अन्तिम प्राप्ति हो, बुद्धत्व नै धर्मको मूल हो, धर्मले प्रादान गर्ने सुन्दर पुरस्कार हो।
गौतम बुद्धले भन्नुभएको छ,‘दुःखको अस्तित्वको स्वीकृतिसँगै यसलाई निराकरण गर्ने उपाय सुझाउनु नै धर्मको आधारशिला हो। बुद्धका अनुसार संसारमा दुःख छ, दुःखको कारण र दुःखको निवारण छ। यो धर्ममा हाम्रो प्रवेशपछि मात्र थाहा हुन्छ भनेर भनिएको छ। हाम्रा समाजमा विभिन्न किसिमका पीडाहरू छन्, दुःख र अप्ठ्याराहरू छन्। दुःखै दुःखको संसार छ हाम्राअगाडि तर हाम्रो ज्ञान र बोधको उज्यालोमा दुःखको त्यो अँध्यारो सजिलै हटेर जान्छ।
संसारमा भएका दुःख हटाउन त सकिन्छ, तर धर्मको आधारविना त्यो सम्भव छैन। धर्मको साथले नै हामीलाई मनुष्य जीवनका विभिन्न पीडा, दुःख र अप्ठ्याराहरूसँग सम्झौताहीन सङ्घर्ष गर्ने शक्ति प्रदान गर्दछ। ‘धर्म हुँदाहुँदै त मानिस यति नीच छ, धर्म नभएका भए ऊ झन् कस्तो हुन्थ्यो होला ?’- यो बेन्जामिन फ्रयाङ्कलिनको भनाइ हो। अतिकति पनि नियमकानुन, मूल्यमर्यादा र नीतिधर्मका प्रारम्भिक मोडहरूबाट नगुज्रिएका भए साँच्चै नै हामी आजको अवस्थाभन्दा पनि निकै तल रहेका हुनेथियौँ।
संसार धर्महीन छैन
मानिस भएका हरेक भूगोल, हरेक देश र हरेक परिवेश कुनै न कुनै धर्मले युक्त छन्। संसारमा कुनै पनि यस्तो देश छैन होला जुन धर्मले रहित भएको होस्। संसारका प्रत्येक कुनाकाप्चामा भएका धर्मले ईश्वरीय अस्तित्वलाई स्वीकारेका छन् र मानवीय दायित्व एवम् कर्तव्यबारे प्रस्ट निर्देशन प्रदान गरेका छन्। धर्मले निर्देश गरेका र सुझाएका बाटाहरूबाट लगभग संसारका सबै मानिस धेरथोर गुज्रिएका छन् तापनि मानिसमा लोभानिपापानि घट्न र हट्न सकेको देखिँदैन। धर्मले संसारभर मानिसलाई मानिस बन्न प्रेरित गर्दागर्दै पनि मानिसमा परस्परको सहयोग, एकता र विश्वासको अभाव देखिएको छ। हिंसाहरू बढेर गएका छन्। जालेझेल र छलप्रपञ्चले स्थान पाएका छन्, धर्म हुँदाहुँदै पनि। यदि साँच्चै नै यही धर्म पनि नहुँदो हो त मानिसको आजको अवस्था कस्तो हुँदो हो ? कल्पना मात्रै गर्न सकिन्छ।
यसरी हेर्दा हामीलाई के थाहा हुन्छ भने धर्मले हाम्रो समाजमा सन्तुलन काय गर्नका निमित्त ठूलो भूमिका निर्वाह गरेको रहेछ। मानवीय मूल्य र दर्शनको जगेर्ना गर्नका लागि पनि प्रत्येक मनुष्यले धर्मका मूल्यहरूलाई व्यवहारतः आत्मसात गर्नु अत्यन्त आवश्य देखिन्छ।
विचारणीय कुरा के छ भने संसारका सबै धर्म उत्तिकै महत्त्वपूर्ण छन्। हामीले मान्दै आएको धर्म हाम्रो लागि सर्वोत्कृष्ट अवश्य होला, तर सबैका लागि हुन सक्दैन। बर्टनको विचारमा ‘प्रत्येक धर्म त्यति नै सत्य छ, जति अरु धर्महरू छन्।’ उनका अनुसार संसारका सबै धर्मको सार मनुष्यताको निर्माण देखिन्छ। मान्छेलाई अमान्छे बनाउने अनेकन वृत्तिहरूको शुद्धिकरण गर्दै जीवनको सार्थकताका लागि प्रेरणा प्रदान गर्नु धर्मको मूल मर्म देखिन्छ। सबै धर्महरूको लडाईँ अधर्मसित मात्र छ भनेर विद्वान्हरूले भनेका छन्। सारमा मान्छेको जीवनलाई सुखमय बनाउनु, आनन्द, शान्ति र प्रेमले पूर्ण बनाउनु संसारका सबै धर्महरूको उद्देश्य देखिन्छ।
संसारका कुनै पनि धर्मको धर्म परस्परमा प्रतिस्पर्धा गर्नु होइन। आआफ्ना ठाउँबाट वरपर रहेका मानिसलाई सुख, शान्ति, समृद्धि र सत्वृत्तितर्फ प्रेरित गर्नु धर्मको मूलभूत उद्देश्य देखिन्छ। जुन ठाउँमा जुन धर्मको विकास भएको छ, त्यो धर्मले त्यही ठाउँ, गाउँ, हावापानी र माटो बोलिरहेको हुन्छ। त्यसैले, मानिसले आफू र आफ्नो माटो सुहाउँदो धर्मका मूल्यलाई आत्मसात् गर्नु बढी वैज्ञानिक देखिन्छ। जर्ज बर्नाड साका विचारमा संसारका यी तमाम धर्महरू एउटै शाश्वत र सनातन धर्मका शाखाप्रशाखा मात्र हुन्।
जेहोस्, धर्म जहिले पनि जीवनमुखी हुन्छ। थोमस फुलरले भनेका छन्,‘एउटा श्रेष्ठ जीवन नै एक मात्र धर्म हो।’ जहाँका मानिस सुखी, सन्तुष्ट, समृद्ध र शान्त छन्, यसको अर्थ त्यहाँका मानिसले धर्मको परिपालन गहिराइका साथ गरेका छन् भन्ने कुरा स्पष्ट हुन्छ। जीवन यही श्रष्ठता प्राप्त गर्नका लागि हो। जीवनको यो श्रेष्ठता धर्मविना कहिल्यै सम्भव नहुने कुरा विद्वान्हरूले बताएका छन्।
जीवनमा भौतिक एवम् सांसारिक भोगमा मस्त भइरहँदा हामीले धर्मलाई बिर्सिएका हुन सक्दछौँ, तर धर्मलाई नसम्झीकन हाम्रो जीवनको उद्धार हुने सम्भावना पनि कतै देखिँदैन। जति धर्मका मर्मलाई हामी व्यवहारमा लागु गर्दछौँ, विद्वान्हरूले भनेजस्तै हाम्रो जीवन पनि त्यति नै सुन्दर र स्वस्थ हुँदै जाँदोरहेछ। यसैले, धर्मका शरणमा जाऔँ, जीवन श्रेष्ठताको अनुभव गरौँ र जीवनलाई सार्थक बनाऔँ।